लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचन : नेपालगन्जका मेयर राणाले मतदान नगर्ने
काठमाडौं : बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले आज भइरहेको लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा मतदान नगर्ने भएका छन्।
उनले सामाजिक सञ्चाल ट्विटरमा ट्विट गर्दै अहिलेकाे अवस्थामा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र जुधिरहेकाले आफू त्यसमा सहभागी नहुने निर्णयमा पुगेको बताएका हुन्।
'आज हुने लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपचुनाव मेरो प्राथमिकतामा परेन। मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकोले कांग्रेस, एमाले र माओवादीबीच यो अवस्थामा भइरहेको जुधाइलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु,' उनले टि्वटमा लेखेका छन्।
उपनिर्वाचनअन्तर्गत दाङको घोराहीका तीन केन्द्रमा बिहान ९ बजेदेखि मतदान भइरहेको छ।
एक सिटका लागि भइरहेको उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट चन्द्रबहादुर खड्का तथा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका तर्फबाट कांग्रेसका दीर्गनारायण पाण्डेले उम्मेदवारी दिएका छन्।
यसअघि माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका खड्का एमालेमा प्रवेश गरेपछि माओवादीले कारबाही गर्दा उक्त पद रिक्त भएको थियो।
उपनिर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय १७ जना र प्रदेशसभाका ८३ सांसद् मतदाता छन्।
जेठ १७, २०७८ सोमबार १३:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।