नवनियुक्त ६ मन्त्रीले बुझाएनन् स्पष्टीकरण, एमालेको साधारण सदस्यबाटै हटाउने तयारी
धनगढी : सुदूरपश्चिम सरकारमा नेकपा एमालेको तर्फबाट शुक्रबार नियुक्त भएका तीन मन्त्री र तीन राज्यमन्त्रीले स्पष्टीकरण बुझाएका छैनन्।
माओवादी नेतृत्वको सरकारबाट फिर्ता हुने पार्टीको निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै एमाले प्रदेश कमिटीले शनिबार उनीहरुलाई २४ घण्टे अल्टिमेटम सहितको स्पष्टीकरण सोधेको थियो।
एमाले प्रदेश कमिटी सचिव राजेन्द्र रावलले ६ जना मन्त्री र सचेतक दुर्गा कामीले स्पष्टीकरण पेस नगरेको बताए। पार्टीको साधारण सदस्यसमेत नरहने गरी उनीहरुमाथि कारबाको तयारी भएको उनले बताए।
शुक्रबार नियुक्त भएका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी र सामाजिक विकासमन्त्री लालबहादुर खड्का र राज्यमन्त्रीमा नियुक्त एमालेकै चुनकुमारी चौधरी, मनाकुमारी साउद र अर्चना गहतराजलाई एमाले प्रदेश कमिटीले स्पष्टीकरण सोधेको थियो।
गत सोमबारको एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। तर प्रदेश संसदीय दलको बैठकले भने तत्काल सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो।
त्यस लगत्तै शुक्रबार मन्त्रिमण्डल विस्तार गरिएको थियो। एमाले प्रदेश कमिटीले यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका अहिलेका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टलाई एमालेको साधारण सदस्यबाट निष्कासित गरिसकेको छ।
जेठ १७, २०७८ सोमबार ११:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।