लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन आज

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन आज
लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि दाङकाे घोराहीमा बनाइएको मतदान स्थल।

काठमाडौं : लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन आज हुने भएको छ।

दाङको घोराहीमा सोमबार आज बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए। 
मतदानका लागि घोराहीको कर्मचारी मिलन केन्द्रमा ३ वटा केन्द्र बनाइएको छ। 

उनले कोरोना भाइरस संक्रमणको महामारी भएकाले उपनिर्वाचनमा पनि यसबारे ध्यान दिइएको बताए। 

‘मतदान गर्न आउने सबैलाई पिसिआर अनिवार्य भनेका छौं। ३ वटा मतदान केन्द्रमा २२ जना स्वास्थ्यकर्मी राखिने छ। मास्क अनिवार्य छ। हामी सबै कर्मचारीहरू पनि स्वास्थ्य मापदण्ड पालना गरेर खटिने छौं,’ उनले भने। 

मतदान स्थलमा एन्टिजेन्ट परीक्षणको व्यवस्था गरेको जानकारी दिँदै उनले मतदातालाई कोरोना पुष्टि भए कोभिड वार्डमा राखिने समेत बताए। 

उपनिर्वाचनमा प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्यको एक पदका लागि दुई जनाको उम्मेदवारी परेको छ। 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले उम्मेदवारी दिएका छन्। 

उपनिर्वाचनमा ८३ प्रदेशसभा सांसद् ८३ र २ सय १७ जना प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जेठ १७, २०७८ सोमबार ०८:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।