उद्योग वाणिज्य महासंघले आज भिजन पेपर सार्वजनिक गर्ने
काठमाडौँ : ‘सम्मानित निजी क्षेत्र समुन्नत नेपाल’ भन्ने नाराका साथ नेपाल उद्योग वाणिज्य महासंघको ५५ औँ वार्षिक साधारण सभा आजदेखि सुरु हुँदैछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे काठमाडौँमा ५५ औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०७७ को उद्घाटन गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ।
कार्यक्रममा महासंघले अगाडि सारेको राष्ट्रिय आर्थिक रूपान्तरण २०३० पुस्तक (भिजन पेपर) को विमोचन हुनेछ। महासंघको वर्तमान नेतृत्वले अबको एक दशकभित्र मुलुकको आर्थिक अवस्था कस्तो हुने भन्ने परिकल्पना सहित भिजन पेपर तयार गरेको महासंघले जनाएको छ।
भिजन पेपरमा मुलुकको अर्थतन्त्र दोहोरो अंकमा वृद्धि गर्ने, आगामी दश वर्ष भित्र मुलुकको अर्थतन्त्र १ सय अर्ब डलरको पुर्याउने र दिगो उच्च आर्थिक वृद्धि मार्फत अतिरिक्त २२ लाख रोजगारी सृजना गर्ने लक्ष्य लिइएको छ।
वार्षिक साधारण सभाको उद्घाटन पछि विभिन्न तीनवटा सत्रमा भिजन पेपरका बारेमा अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र श्रम तथा रोजगार मन्त्रीको उपस्थितिमा समूहगत छलफल हुने कार्यक्रम छ।
महासंघका अनुसार भोलि चैत्र २९ गते महासंघको बन्द सत्र आयोजना सहित साधारण सभाका सबै कार्यक्रम सम्पन्न हुने छन्।
चैत २८, २०७७ शनिबार ०७:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।