नयाँ सरकार गठनमा कांग्रेसलाई माओवादीको साथ, जसपा निर्णयविहीन 

नयाँ सरकार गठनमा कांग्रेसलाई माओवादीको साथ, जसपा निर्णयविहीन 

काठमाडौं : नयाँ सरकार गठनबारे छलफल गर्न नेपाली कांग्रेसले बोलाएको बैठकमा नेकपा माओवादी केन्द्रले कांग्रेसलाई साथ दिने बताए पनि जनता समाजवादी पार्टी (जसपा) अनिर्णित बनेकाे छ।   

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रस्ताव राखेको जानकारी दिए। ‘यसमा दुवै दल सकारात्मक देखिएका छन्,’ उनले भने। 

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीका तर्फबाट बोल्ने नेताले ओली सरकारको विकल्पमा कांग्रेस सभापति शेरबहादुर देउवा वा जसपा अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा सरकार बनाउन सक्ने धारणा राखेको जानकारी दिए। ‘हामीले देउवाजी वा महन्थजी जसको नेतृत्वमा पनि नयाँ सरकार गठन गर्ने विषय राख्यौं,’ बैठकबारे जानकारी दिँदै उनले भने। 

बैठकमा जसपा अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठनबारे पार्टीले निर्णय लिइनसकेको र यसका लागि केही समय मागेको बताएको जानकारी दिए। 

कांग्रेस सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकमा पार्टी सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिहरू विजयकुमार गच्छदार, विमलेन्द्र निधी, महामन्त्रीहरू डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशसरण महत, नेता कृष्णप्रसाद सिटौला र कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेल सहभागी थिए।

यस्तै, माओवादी केन्द्रका तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य कृष्णबहादुर महरा र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ सहभागी भएको बैठकमा जसपाका तर्फबाट अध्यक्ष महन्त ठाकुर, उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, नेताहरू राजेन्द्र महतो र अशोक राई सहभागी थिए। 

नेपाली कांग्रेसको यही चैत २० गते बसेको बैठकले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो। 

सोही निर्णय कार्यान्वयन गर्न कांग्रेस सभापति देउवाले आज तीन दलको बैठक बोलाएका हुन्। 
 

चैत २७, २०७७ शुक्रबार १८:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।