सांसद्सँगै मन्त्री पद गुमाएका चारजना मन्त्रीमा पुन:नियुक्त, आजै शपथ लिने
काठमाडौं : नेकपा माओवादी केन्द्रले पार्टीबाट निश्कासन गरेपछि सांसद्सँगै मन्त्री पद गुमाएका चारजना मन्त्रीमा पुन:नियुक्त भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई मन्त्रीमा पुन:नियुक्त गरेका हुन्।
मन्त्रीमा पुन:नियुक्त गरिएका चारैजनालाई साविककै मन्त्रालयको जिम्मेवारी दिइएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। जसअनुसार रायमाझीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, साहलाई सहरी विकास मन्त्रालय र चौधरीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ।
पुनर्नियुक्त भएका चारैजनाले आज बेलुका ५ बजे राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा शपथ लिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिए।
पुनर्नियुक्ति भएसँगै अब उनीहरू ६ महिनासम्म मात्रै मन्त्री बन्न पाउने छन्। सांसद् नभएको व्यक्ति बढीमा ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ।
पार्टी छाडेर नेकपा एमाले प्रवेश गरेको भन्दै माओवादी केन्द्रले ती चारै मन्त्रीलाई निश्कासन गरेको थियो।
प्रतिनिधिसभाको हिजोको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले माओवादी केन्द्रले ती चारैजना सांसद्लाई कारवाही गरेकाले सांसद् नरहेको जानकारी गराएपछि उनीहरूको सांसद् पद गुमेको थियो।
संविधानविद भीमार्जुन आचार्यका अनुसार सांसद् पदसँगै उनीहरूको मन्त्री पद पनि गुमेको थियो।
चैत २७, २०७७ शुक्रबार १४:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।