बादलकाे सांसद् पद जाेखिममा
काठमाडौं : नेकपा माओवादी केन्द्रले पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्रीलाई कारवाही गरेपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’काे सांसद् पद पनि जाेखिममा परेकाे छ।
पार्टी छाडेर एमाले प्रवेश गरेका गृहमन्त्री बादललाई माओवादी केन्द्रले कारवाही गर्ने भएपछि उनकाे सांसद् पद जाेखिममा परेकाे हाे।
माओवादी केन्द्रका एक नेताले राष्ट्रियसभामा मनोनित थापालाई राष्ट्रियसभाको अधिवेशन सुरु भएपछि कारवाही गरिने जानकारी दिए। ‘राष्ट्रियसभा आगामी अधिवेशनमा बादललाई पनि पार्टीले कारवाही गर्ने छ,’ ती नेताले उकेरासँग भने, ‘पार्टीले कारवाही गरेपछि बादलको पनि सांसद् पद गुम्ने छ।’
गृहमन्त्री थापा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (ने क पा) छँदै पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूह छाडेर केपी शर्मा ओली समूहमा लागेका थिए। सर्वाेच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि पनि उनी एमालेमै छन्।
माओवादी केन्द्रले आज (बिहीबार) अर्घाखाँची–१ बाट निर्वाचित ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, कैलाली–४ बाट निर्वाचित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, रौतहट–३ बाट निर्वाचित सहरी विकासमन्त्री प्रभु साह र कैलाली–३ बाट चुनाव जितेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई कारवाही गरेको हो। यससँगै चारजनाको सांसद् पद गुमेको छ।
चैत २६, २०७७ बिहीबार २२:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।