माओवादी केन्द्रका चार मन्त्रीको सांसद् पद गुम्यो, के हुन्छ मन्त्री पद ? 

माओवादी केन्द्रका चार मन्त्रीको सांसद् पद गुम्यो, के हुन्छ मन्त्री पद ? 

काठमाडौं : नेकपा माओवादी केन्द्रका तर्फबाट सरकारमा प्रतिनिधित्व गरेका चारजना मन्त्रीको सांसद् पद गुमेको छ। 

नेकपा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा पार्टीबाट प्रतिनिधित्व गरेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई माओवादी केन्द्रले कारवाही गरेपछि उनीहरूको सांसद् पद गुमेको हो। 

रायमाझी अर्घाखाँची– १, भट्ट कैलाली–४, शाह रौतहट– ३ र चौधरी कैलाली– ३ बाट सांसद्मा निर्वाचित भएका थिए। 

प्रतिनिधिसभाको आज (बिहीबार)को बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले माओवादी केन्द्रले ती चारजना मन्त्रीलाई कारवाही गरेको जानकारी गराएका थिए। 

अन्य दलको राजनीतिक गतिविधिमा संलग्न रहेको भन्दै माओवादी केन्द्रले राजनीतिक दलसम्बन्धी ऐन अनुसार ती चारजना मन्त्रीलाई सांसद्बाट हटाएको जनाएको छ। 

कारवाहीपछि मन्त्री पद के हुन्छ ? 

माओवादी केन्द्रको कारवाहीपछि सांसद् पद गुमाएका चार मन्त्रीको मन्त्री पद के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। 

संविधानविद् डा. भीर्माजुन आचार्य ती चारजना सांसद्को हैसियतमा नरहेपछि उनीहरूको मन्त्री पद पनि गुमेको बताउँछन्। यसबारे संसद्मा जानकारी भएसँगै उनीहरूले मन्त्रीको हैसियत पनि गुमाएको उनको भनाइ छ। 

‘संविधानको व्यवस्था अनुसार पार्टीले कारवाही गरेको अवस्थामा पार्टीबाट निष्काशन गरेपछि उसको सांसद् पद रहँदैन। कारवाहीको जानकारी सभामुखलाई गराउनुपर्छ,’ उनी भन्छन्, ‘फेरि मन्त्री बनाउने हो भने पुनः नियुक्ति गर्नुपर्छ। यसरी नियुक्ति भएपछि सांसद् नहुँदा पनि उनीहरू ६ महिनासम्म मन्त्री पदमा रहन सक्छन्।’ 

चैत २६, २०७७ बिहीबार १६:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।