कोरोना संक्रमण बढेपछि काठमाडौं विश्वविद्यालयमा आजबाट अनलाइन पठनपाठन सुरु 

कोरोना संक्रमण बढेपछि काठमाडौं विश्वविद्यालयमा आजबाट अनलाइन पठनपाठन सुरु 
तस्बिर : केयुडटइडियुडटएनपी।

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि काठमाडौं विश्वविद्यालयले आजबाट अनलाइन माध्यमबाट पढाउन सुरु गरेको छ।

विश्वविद्यालयले बिहीबारदेखि स्कुल अफ साइन्स र इन्जिनियरिङ अन्तर्गतका सबै कार्यक्रमको पठनपाठन अनलाइनमार्फत गर्ने निर्णय गरेको हो।

स्कुल अफ साइन्सका डिन प्रा.डा. कन्हैया झा र स्कुल अफ इन्जिनियरिङका डिन प्रा.डा. मनीष पोखरेलले हिजाे संयुक्तरूपमा सूचना जारी गर्दै चैत २६ गतेदेखि २०७८ वैशाख मसान्तसम्म अनलाइन माध्यमबाट पठनपाठन हुने उल्लेख छ। 

‘विश्वव्यापीरूपमा पुनः फैलिएको कोरोना महामारीको कारण विश्वविद्यालयमा उपस्थित भई भौतिकरूपमा नियमित पठनपाठन गर्न कठिनाइ भएकाले यस असहज परिस्थितिमा क्षति न्यूनीकरण गर्दै लाने उद्देश्यले २०७७ चैत २६ देखि वैशाख मसान्तसम्म यस विश्वविद्यालय, स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङ अन्तर्गतका सम्पूर्ण कार्यक्रमको पठनपाठन अनलाइनमार्फत गर्ने निर्णय भएको हुँदा सम्बन्धित शिक्षक तथा विद्यार्थीको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ। 

साथै सो अवधिमा स्कुल तथा विभागीय प्रशासनहरू सुचारु हुने र अनुसन्धान तथा प्रोजेक्टका कार्य सम्बन्धित प्रमुखको निर्णयबमोजिम गर्न सकिने सूचनामा उल्लेख छ। 
तीन दिनयता देशभर दैनिक दुई सयभन्दा बढी जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २ सय ६६ जनामा संक्रमण देखिएको थियो। यस्तै, मंगलबार २ सय ६० र बुधबार २ सय ९८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

चैत २६, २०७७ बिहीबार १२:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।