भारतीय ब्राण्डको भन्दै नक्कली मेहन्दी बनाउने कम्पनीमा छापा, सञ्चालक पक्राउ
काठमाडौं : भारतीय कम्पनी काला–कोला हिनाज, निशा, हबिबलगायत विभिन्न ब्राण्डका नाममा नेपालमा मेहेन्दी उत्पादन गरी बिक्री वितरण गर्ने कलंकीस्थित एक कम्पनीमा छापा मारिएको छ।
महानगरीय अपराध महाशाखा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले भारतीय ब्राण्डको नाममा नक्कली मेहेन्दी बनाउने कम्पनीमा छापा मारेको हो।
उपभोक्ताको उजुरी र सूचनाका आधारमा कम्पनीमा छापा मारिएकाे अपराध महाशाखा एसएसपी चन्द्र कुँवरले जानकारी दिए।
‘भारतका विभिन्न ब्राण्डको नाममा नेपालमा उत्पादन गरिएको मेहन्दी अनधिकृतरूपमा बेचेर उपभोक्तालाई ठगेको पाइयो,’ एसएसपी कुँवरले भने, ‘त्यो कम्पनीका सञ्चालक चेतन गोयललाई पनि पक्राउ गरेका छौं।’
भारतमा बनेका भनेर बेचिने मेहन्दी नेपालमा नै प्याकेजिङ गरेर बिक्री वितरण हुँदै आएको पाइएको कुँवरको भनाइ छ।
उनका अनुसार २०७३ सालमा विभिन्न ब्रान्डका ट्रेड मार्क चोरी गरी कम्पनीले प्रयोग गरेको भनी उच्च अदालत, पाटनमा मुद्दा दायर भएको थियो। अदालतले कम्पनीलाई दोषी ठहर गरेको थियो।
चैत २४, २०७७ मंगलबार १७:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।