ओलीलाई चुनौती दिन समानान्तर कमिटी बनाउँदै माधव समूह,बागमतीमा समानान्तर कमिटी

ओलीलाई चुनौती दिन समानान्तर कमिटी बनाउँदै माधव समूह,बागमतीमा समानान्तर कमिटी

काठमाडौँ : अनुशासनहीन काम गरेको भन्दै कारबाहीमा परेपछि माधव नेपाल समूहले नेकपा एमालेमा समानान्तर कमिटीहरू गठनलाई तीव्र बनाएको छ। केपी ओली नेतृत्वको समूहले कारबाही गरेपछि नेपाल समूहले जिल्ला र प्रदेश तहमा समानान्तर कमिटी गठनलाई तीव्र बनाएको हो। 

यही क्रमलाई निरन्तरता दिँदै सो समूहले मङ्गलवार बल्खुमा कार्यक्रमको आयोजना गरेर बागमती प्रदेशको समानान्तर कमिटी गठन गर्यो। नेपाल आफैँ उपस्थित रहेको कार्यक्रममा अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १ सय ७५ सदस्यीय समानान्तर कमिटी घोषणा गर्यो। 

शाक्य नेतृत्वको कमिटीमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई सहसंयोजक छन् । सचिवमा रचना खड्का चयन भइन्। 

प्रदेशसँगै सो समूहले प्रदेशका सबै जिल्लाका पदाधिकारीसहित कमिटी समेत पूर्नगठन गर्यो। सो भेलाले प्रदेशका सबै जिल्लामा इन्चार्ज, सह–इन्चार्ज र केन्द्रीय प्रतिनिधि समेत तोकेको छ। 

यस अगाडि नै सो समूहले कास्कीमा समानान्तर जिल्ला कमिटी घोषणा गरिसकेको छ। 

माधव नेपाल र सुरेन्द्र पाण्डेको उपस्थितिमा भएको भेलाले कास्कीमा धनराज आचार्यको अध्यक्षतामा समानान्तर कमिटी बनाएको थियो। काठमाडौँमा वसन्त मानन्धरको नेतृत्वमा जिल्ला कमिटी घोषणा भइसकेको छ। 

 

चैत २४, २०७७ मंगलबार १४:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।