कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि लगाइने

कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि लगाइने

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि लगाइने भएको छ।

स्वास्थ्य कार्यालय, काठमाडौंले सूचना जारी गर्दै खोप अभियानको पहिलो चरणमा पहिलो र दोस्रो प्राथमिकतामा रही खोप लगाएका व्यक्तिलाई वैशाख ७ देखि ११ गतेसम्म खोपको दोस्रो मात्रा लगाइने जनाएको हो। 

स्वास्थ्य कार्यालयका अनुसार गत माघ १४, १५, १६, १७ र २६ गते खोपको पहिलो मात्रा लगाएकाले वैशाख ७ गते दोस्रो मात्रा लगाउन पाउने छन्। यस्तै, माघ १८, १९, २०, २१ र २७ गते खोपको पहिलो मात्रा लगाएकालाई वैशाख ८ गते दोस्रो मात्रा लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ। 

यसैगरी, माघ २२, २३, २४, २८ र फागुन २ गते खोपको पहिलो मात्रा लगाएकालाई वैशाख ९ गते खोपको दोस्रो मात्रा लगाइँदै छ। 

यस्तै, माघ २९, फागुन ३, ४, ५ र ६ गते खोपको पहिलो मात्रा लगाएकाले वैशाख १० खोपको दोस्रो लगाउन पाउने छन्। माघ ३०, फागुन ७, ८, ९ र १० गते खोपको पहिलो मात्रा लगाएकालाई वैशाख ११ गते खोपको दोस्रो मात्रा लगाइने छ। 

स्वास्थ्य कार्यालयले खोपको पहिलो मात्रा लिएको केन्द्रबाट खोपको दोस्रो मात्रा लगाउन अनुरोध गरेको छ। 

सरकारले कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियान गत माघ १४ देखि फागुन १० गतेसम्म सञ्चालन गरेको थियो। उक्त अवधिमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कूटनीतिज्ञ तथा सो नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक तथा वित्तीय संस्थानका कर्मचारी लगायतले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका थिए। 

चैत २३, २०७७ सोमबार २२:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।