एकता महाधिवेशनमा केन्द्रित छौं : विवेकशील साझा

एकता महाधिवेशनमा केन्द्रित छौं : विवेकशील साझा

काठमाडौं : विवेकशील साझा पार्टीले एकता महाधिवेशनमा केन्द्रित भएको जनाएको छ। 

विवेकशीलले ललितपुरस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग गरेको अन्तरक्रिया कार्यक्रममा आफू महाधिवेशन केन्द्रित रहेको जनाएको हो। 

कार्यक्रममा विवेकशील र साझा पार्टीबीच आन्तरिक व्यवस्थापन र समायोजन पूरा भएको बताइएको थियो। 

पार्टी अध्यक्ष रविन्द्र मिश्रले पार्टीको लक्ष्य वैकल्पिक शक्ति हुँदै मूलधारको राजनीतिको रहेको स्पष्ट पारे। उनले वैकल्पिक पार्टीको रूपमा जनस्तरबाट बढी अपेक्षा रहेको बताए। 

‘हामी मौन बसेका छैनौं। काम गरिरहेका छौं,’ उनले भने, ‘वैकल्पिक शक्तिको रूपमा हामीसँग जनस्तरबाट धेरै अपेक्षा राखिएका छन्। तर, पूरा गर्न नसक्दा गाली पनि खाएका छौं।’ 

उनले धर्म निरपेक्षता, संघीयताजस्ता विषयमा विवेकशील साझालाई जोडेर अनावश्यक प्रचार गरिएको गुनासो गरे। यसबारे पार्टीले छलफलपछि धारणा बनाउने उनको भनाइ थियो।  

पार्टी संयोजक मिलन पाण्डेले पार्टी एकतापछि हुन लागेको पहिलो  महाधिवेशनमा केन्द्रित भएको बताए। उनले विवेकशील साझा सबैभन्दा बढी युवाको सक्रियता रहेको पार्टी भएको दाबी गरे। 

सरकारले कानुनसम्मत मध्यावधि चुनाव गरेको अवस्थामा विवेकशील साझा मैदानमा उत्रिन तयार रहेको उनले स्पष्ट पारे। उनले विवेकशील साझाले आगामी चुनावमा थ्रेसहोल्ड पार गर्ने दाबी गरे। ‘विगतका चुनावका परिणाम पनि उत्साहित छ। आगामी च्ुनावमा हामी थ्रेसहोल्ड पार गर्ने छौं,’ उनले भने। 

कार्यक्रममा पार्टीका सूचना तथा सञ्चार विभाग संयोजक प्रकाशचन्द्र परियार, प्रवक्ता सरदराज पन्तलगायतको उपस्थिति थियो। 

चैत २३, २०७७ सोमबार १६:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।