पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा अब्दुल्लाह नियुक्त

पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा अब्दुल्लाह नियुक्त
तस्बिर : द एन्फा डट कम।

काठमाडौं : कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपालको पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसीका कोचिङ प्रशिक्षकसमेत रहेका अब्दुल्लाहलाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। उनलाई एन्फाको प्राविधिक समितिले प्रशिक्षकका रूपमा सिफारिस गरेको थियो। 

अब्दुल्लाहसँग कुवेत र साउदी अरबमा क्लबको प्रशिक्षण गरेको अनुभव छ। यस्तै, उनले किर्गिस्तानको यु–१६ टिमको प्रशिक्षकका रूपमा काम गरिसकेका छन्। 

प्रशिक्षक नियुक्त भएपछि अब्दुल्लाहले आफू खुसी भएको प्रतिक्रिया दिए। ‘मलाई नेपालमा काम गर्न पाउँदा खुसी लागेको छ, जहाँका मानिस वास्तवमै दयालु छन्। म यो कामलाई एक चुनौतीको रूपमा लिन्छ्ु। साथै हाम्रो खेलबाट नेपाली समर्थकलाई खुसी बनाउने आशा गर्छु।’ 

उनले आफू प्रशिक्षक नियुक्त हुनुअघि आफूले खेलाडी र देशबारे अध्ययन गरेको बताए। ‘मैले थ्री नेसन्स कपमा नेपाली टोलीको खेल हेरेको थिएँ। हामीसँग खेलाडीको राम्रो टिम छ। आशा छ कि हामी यस्ता धेरै उपाधिमा खुसी मनाउन सक्छौं,’ उनले भने। 

द एन्फा डट कम

चैत २२, २०७७ आइतबार २१:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।