खनाल–नेपाल समूहद्वारा काठमाडौंमा समानान्तर जिल्ला कमिटी गठन

खनाल–नेपाल समूहद्वारा काठमाडौंमा समानान्तर जिल्ला कमिटी गठन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एमाले)को वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले काठमाडौंमा समानान्तर जिल्ला कमिटी गठन गरेको छ। 

बुद्धनगरस्थित बुद्धनगर पार्टी प्यालेसमा आइतबार भएको भेलाले वसन्तप्रसाद मानन्धरको नेतृत्वमा जिल्ला कमिटी गठन गरेको हो। 

‘मेरो अध्यक्षतामा २ सय २५ सदस्यीय कमिटी गठन भएको छ। यसको घोषणा हुन बाँकी छ,’ बाग्मतीका प्रदेश सांसद्समेत रहेका मानन्धरले भने, ‘अबको १ घण्टा जतिमा जिल्ला कमिटी घोषणा हुनेछ।’ 

उनका अनुसार कमिटी उपाध्यक्षमा सुवास सापकोटा, सचिवमा कुसुम कार्की र उपसचिवमा एलबी श्रेष्ठलाई चयन गरिएको छ। उनले एक सातामा सपथ कार्यक्रम पनि आयोजना गर्ने बताए। 

उक्त कार्यक्रममा नेताद्वय खनाल र नेपाल पनि उपस्थित थिए। 

एमाले काठमाडौंको जिल्ला कमिटी कृष्ण राईको नेतृत्वमा छ। राई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहका हुन्।  

पार्टी अध्यक्ष ओलीले एकलौटीरूपमा पार्टीमा निर्णय गरेको र आफूइतरका नेतालाई कारबाही गर्न थालेपछि खनाल–नेपाल समूहले पार्टीका विभिन्न कमिटी र भ्रातृ संगठनमा समानान्तर कमिटी गठन गर्न थालेको हो। 

यसअघि उक्त समूहले अखिल नेपाल महिला संघ, अनेरास्ववियुलगायतमा समानान्तर कमिटी गठन गरेको थियो। 

चैत २२, २०७७ आइतबार १६:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।