कांग्रेसद्वारा क्रियाशील सदस्यता वितरणको समयावधि थप
काठमाडौंः नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरणको समयावधि थप गरेको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले कार्यतालिका परिवर्तन गरी समयावधि थप गर्ने निर्णय गरेको हो।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले नयाँ क्रियाशील सदस्यको विवरण पठाउने समयावधि चैत ३० सम्म थप गरेको कांग्रेसले जनाएको छ।
केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति संयोजक रमेश लेखकले प्रस्तुत गरेको सुझावलाई केन्द्रीय समितिले संशोधनसहित पारित गरेको हाे।
संशोधित कार्यतालिका अनुसार चैत ३० गतेभित्र वडा, पालिका, निर्वाचन क्षेत्रले क्रियाशील सदस्यता नवीकरणको विवरण जिल्ला कार्यसमितिमा बुझाउनुपर्ने र २०७८ वैशाख १० भित्र नयाँ क्रियाशील सदस्यको सूची केन्द्रमा पठाउनु पर्नेछ।
केन्द्रले नयाँ क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले गरेको निर्णय पुनरावेदन र नवीकरणसम्बन्धी परेका उजुरी छानविन गरी २०७८ जेठ १७ भित्र अन्तिम सूची तयार गर्ने छ।
यसअघिको कार्यतालिकामा फागुन २८ भित्र जिल्ला कार्यसमितिमा बुझाउनुपर्ने र जिल्ला कार्यसमितिले चैत १० भित्र विवरण केन्द्रमा पठाइसक्नुपर्ने उल्लेख थियो। तर, समयावधिभित्र सदस्यताको काम सम्पन्न नभएपछि कार्यतालिका परिवर्तन गरिएको हो।
कांग्रेसले क्रियाशील सदस्य संख्या १० लाख पु¥याउने लक्ष्य राखेको छ। तर, हालसम्म कांग्रेसमा नयाँ र नवीकरण गराएका गरी ५ लाख हाराहारीमा क्रियाशील सदस्य छन्।
चैत २१, २०७७ शनिबार १८:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।