विश्व बैङ्कसँग ८ अर्ब ७० करोड रुपैयाँ बराबरको वित्तीय सम्झौतापत्रमा हस्ताक्षर
काठमाडौँ : कोभिड–१९ विरुद्ध सुरक्षित र प्रभावकारी खोपको पहुँच बिस्तार गर्न नेपाल सरकार र विश्व बैङ्कबिच ८ अर्ब ७० करोड रुपैयाँ (७५ मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौतामा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र मालदिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक फारिस् हदाद–जर्भोसले हस्ताक्षर गरेका छन्।
हस्ताक्षर कार्यक्रममा अर्थ सचिव ढुङ्गानाले कम्तीमा ७२ प्रतिशत नेपालीलाई खोप दिने सरकारको बृहत् योजनाका लागि यस अतिरिक्त वित्तीय सहयोगले महत्त्वपूर्ण सहयोग पु¥याउने बताए। उनले नेपालको राष्ट्रिय खोप वितरण योजना अनुरूपको प्रभावकारी खोप सेवा बिस्तार र स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्न यो वित्तीय सहयोग उपयोगी हुने उल्लेख गरे।
मालदिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक फारिस् हदाद–जर्भोसले कोभिड–१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरूको समतामूलक र द्रुत पहुँच बिस्तार गर्नु नेपालमा महामारीबाट जीवन रक्षा गर्न र उत्थानशील पुनर्लाभ प्राप्त गर्न निकै महत्त्वपूर्ण भएको बताए। उनले विश्व बैङ्क नेपालमा जीवन रक्षा, सार्वजनिक स्वास्थ्य तयारी प्रणालीको सुदृढीकरण र नेपालको आर्थिक पुनर्लाभलाई उत्प्रेरित गर्न महामारी प्रतिकार्यलाई सहयोग गर्न प्रतिबद्ध रहेको बताए।
अर्थ मन्त्रालय र विश्व बैङ्कद्वारा संयुक्त जारी प्रेस विज्ञप्तिका अनुसार गत वर्ष चैतमा विश्व बैङ्कद्वारा स्वीकृत गरिएको ३ अर्ब ३० करोड रुपैयाँ बराबरको कोभिड–१९ आपत्कालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी आयोजना मै यो अतिरिक्त वित्त सहयोग प्राप्त भएको हो।
चैत २०, २०७७ शुक्रबार १९:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।