कांग्रेस नेता विश्वकर्माको आग्रह– दलित भन्न हिनताबोध र अपहेलित महसुस नगरौं
काठमाडौं : पूर्वमन्त्री तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले दलित भन्नलाई हिनताबोध र अपहेलित महसुस नगर्न आग्रह गरेका छन्।
टोखा नगरपालिका वडा नम्बर ११ मा सञ्चालन गरिएको दलित अधिकारसम्बन्धी संविधान, कानुन, हिंसा र अधिकारका विषयक तालिममा उनले दलित शब्दप्रति वितृष्णा हुन नपर्ने बताएका हुन्।
उनले दलित शब्दको व्याख्या नै परिवर्तन गर्न सकिने बताए। ‘दलित भन्नासाथ शिक्षित, सिपालु, भलादमी, परिश्रमी भएर देखाउँ। आफैबाट आजै सुरु गरौं,’ उनले भने, ‘अनि दलित शब्दको व्याख्या नै परिवर्तन गर्न सकिने छ।’
उनले दलित समुदायमध्येमा महिलाको अवस्था अझै गम्भीर रहेको बताए। स्थानीय तहमा दलित महिलाको सहभागिता अनिवार्य गरेपछि केही सुधार भएको उनको भनाइ छ। उनले दलित महिलाको अभिमुखीकरणका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
अभिमुखीकरण तालिममा सहभागी अम्बिका परियारले तालिमबाट धेरै कुरा जानकारी पाएको बताइन्। ‘हिंसा भनेको के हो ? विभेद भनेको के हो ? यसबारे हामीलाई जानकारी थिएन। तालिमले यसबारे केही प्रष्ट पारिदिएको छ,’ उनले भनिन्।
दलित समुदायको संवैधानिक, कानुनी अधिकार, महिला उत्पीडन र जातीय विभेदको विषयमा तालिम सञ्चालन गरिएको कार्यक्रम संयोजक फूलमाया विकले जानकारी दिइन्।
चैत १९, २०७७ बिहीबार २१:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।