प्रचण्डले दिएको फैसला पुनरावलोकन निवेदन आज इजलासमा पेस हुने
काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध दिएको पुनरावलोकन निवेदनलाई निस्सा दिने कि नदिने भन्नेबारे आज निर्णय गर्ने भएको छ।
प्रचण्डले दिएको पुनरावलोकन निवेदन आज इजलासमा पेस हुने सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए।
इजलासलाई उपयुक्त लागेमा निवेदनलाई निस्सा प्रदान गर्ने र उपयुक्त नलागे मुद्दाको सुनुवाइ प्रक्रिया अगाडी नबढ्ने ढकालले बताए। आजको इजलासले फैसला पुनरावलोकन गर्न स्वीकृति दिने वा नदिने निर्णय गर्ने छ।
नेकपा आफ्नो पार्टीको नाम भएको भन्दै ऋषिराम कट्टेलले दिएको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २३ गते एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई एकीकरण अगाडीकै अवस्थामा फर्काइदिने फैसला गरेको थियो।
सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसला गरेपछि गत मङ्गलवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनरावलोकनको निवेदन दिएका थिए ।
एमाले र माओवादी केन्द्रबिच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो । त्यसलाई निर्वाचन आयोगले २०७५ सालमा दर्ता गरेर मान्यता दिएको थियो।
चैत १९, २०७७ बिहीबार ०९:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।