अभिनेत्री करिश्माको सरकारसँग आग्रह– देशैभर लागेको डढेलो छिटोभन्दा छिटो नियन्त्रण गर्नुस्
काठमाडौ : अभिनेत्री करिश्मा मानन्धरले देशैभरका विभिन्न जंगलमा लागेको डढेलो छिटोभन्दा छिटो नियन्त्रण गर्न सरकारसँग आग्रह गरेकी छन्।
उनले सामाजिक सञ्जाल फेसबुक स्टाटसमार्फत देशभरका ४ सय ७९ ठाउँका जंगलमा लागेको डढेलो नियन्त्रणका लागि सरकारसँग आग्रह गरेकी हुन्।
‘डढेलोले वन मात्रै नास भइरहेको छैन। वनमा बस्ने विविध प्रकारका जीवजन्तुको जीवन समस्यामा परेको छ। वनमा रहेका विविध प्रजातिका वनस्पति र जडीबुटी नष्ट हुँदै छन्,’ उनले लेखेकी छन्, ‘त्यसैले सरकारसँग अनुरोध छ, छिटोभन्दा छिटो डढेलो नियन्त्रण गरेर मानिस, जीवजन्तु, वनस्पति, जडीबुटी, पानीका मुहान र जमिनको संरक्षण गर्नु पर्याे।’
सम्बन्धित निकायले डढेलो नियन्त्रणमा आक्रामकता नदेखाएको उनले आरोप लगाइन्। ‘सम्बन्धित निकायले डढेलो नियन्त्रणमा जुन आक्रामकता देखाउनुपर्ने हो, त्यो देखाउन सकेको छैन। नसकेको हो कि नचाहेको हो ?’ उनले लेखेकी छन्।
उनले डढेलोका कारण देशभरी वायु प्रदूषण बढेको र यसले नागरिकको स्वास्थ्यमा समस्या पैदा गरेको स्टाटसमा उल्लेख गरेकी छन्।
चैत १८, २०७७ बुधबार १७:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।