सरकारी निर्णयको अवज्ञा गर्दै कर्णालीकाे तीन स्थानीय तहका विद्यालय सञ्चालन
सुर्खेत : वायु प्रदूषण बढेको भन्दै सरकारले आज (मंगलबार)देखि चार दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरे पनि कर्णालीका तीन स्थानीय तहमा त्यसलाई बेवास्ता गर्दै विद्यालय सञ्चालन गरिएका छन्।
सुर्खेतको चौकुने गाउँपालिका, रुकुमपश्चिमको चौरजहारी नगरपालिका र सल्यानको दार्मा गाउँपालिकाका विद्यालय सञ्चालन भएका हुन्।
चौकुने गाउँपालिकाले आफ्नो स्थानीय तहमा वायु प्रदूषणको समस्या नदेखिएको भन्दै विद्यालय सञ्चालन गरेको जनाएको छ। गाउँपालिकाले आज सूचना जारी गर्दै गाउँपालिकाका सबै विद्यालयलाई कक्षा सञ्चालन गर्न आग्रह गरेको छ।
गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण लामो समय पठनपाठन प्रभावित भएको र वायु प्रदूषणको प्रभाव नपरेकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए।
चौरजहारी नगरपालिका र दार्मा गाउँपालिकाले पनि आफ्नो क्षेत्रमा वायु प्रदूषण नदेखिएको दाबी गर्दै विद्यालय सञ्चालन गरेका हुन्।
चौरजहारी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आज (मंगलबार) विद्यालय नियमितरूपमा सञ्चालन गर्न गाउँपालिकाका सबै विद्यालयलाई निर्देशन दिएको छ।
‘कोभिड–१९ महामारीका कारण लामो समय विद्यालय बन्द रहेको र राष्ट्रपति रनिङ सिल्ड तथा चौथो नगरप्रमुख कप खेलकुद प्रतियोगिता सञ्चालन अवधिमा समेत विद्यालय बन्द रहेका कारण यस नगरपालिकाका सम्पूर्ण शिक्षण संस्थामा नियमित पठनपाठन गराउन निर्देशानुसार सूचित गरिएको छ,’ शिक्षा शाखाले सूचनामार्फत यस्तो भनेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकाे आकस्मिक बैठकले देशभरका विद्यालय आजदेखि चार दिनसम्म बन्द गर्ने निर्णय गरेको थियो।
चैत १७, २०७७ मंगलबार २२:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।