वायु प्रदूषणका कारण आजदेखि चार दिन शैक्षिक संस्था बन्द
काठमाडौँ : वायु प्रदूषणबाट बालबालिकालाई बचाउन भन्दै आजदेखि शुक्रवारसम्म शैक्षिक संस्था बन्द हुने भएका छन्। सरकारले देशभरका शैक्षिक संस्था चार दिन बन्द गर्ने निर्णय गरेको हो।
यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदूषणका कारण स्वास्थ्य समस्या देखा पर्ने हुँदा सचेत रहन आग्रह गरेको थियो। मन्त्रालयले वायु प्रदूषणले जनस्वास्थ्यमा विभिन्न प्रभाव पर्ने भन्दै घरभित्र नै बस्न अनुरोध समेत गरेको थियो। सरकारले घर बाहिर खुल्ला स्थानमा नबस्न र घर बाहिर मर्निङ वाकमा नजान सर्वसाधारणलाई अपिल गरेको छ।
तर, विराटनगर महानगरपालिकाले आफ्नो क्षेत्रमा वातावरणीय असहज अवस्था उत्पन्न नभएको भन्दै सम्पूर्ण शिक्षण संस्थाहरू नियमित सञ्चालन गर्न भनेको छ।
कोरोनाको महामारीमा लामो समय विद्यालय बन्द भई भर्खरै चालु शैक्षिक सत्रमा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालनले गति लिइरहेकोले पठन पाठन बन्द गर्न नहुने पालिकाले स्पष्टीकरण दिएको छ।
यसै गरी तनहुँको भिमाद नगरपालिकाले पनि आफ्नो क्षेत्र भित्र हालसम्म वातावरणीय असहज अवस्था नरहेको हुँदा विद्यालयहरू नियमित रूपमा सञ्चालन गर्नु गराउनु भनेको छ।
इलाम नगरपालिकाले पनि नियमित विद्यालय सञ्चालन गर्ने जनाएको छ। इलामकै रोङ गाउँपालिकाले आफ्नो क्षेत्रमा कुनै प्रभाव नपरेको भन्दै नियमित पठनपाठन गर्ने निर्णय गरेको छ। इलामकै माईजोगमाई गाउँपालिकाले पनि विद्यालय बन्द नहुने जनाएको छ ।
पोखरा महानगरपालिका, गोरखा नगरपालिका, तानसेन नगरपालिका जस्ता केही पालिकाहरूले भने शिक्षा मन्त्रालयको निर्णयको हवाला दिदैं शैक्षिक संस्था बन्द गर्ने सूचना जारी गरेका छन्। अधिकांश पालिकाहरूले शिक्षा मन्त्रालयको निर्णय माथि कुनै प्रतिक्रिया जनाएका छैनन्।
चैत १७, २०७७ मंगलबार ०८:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।