भारतीय सेनाले दिएकाे कोरोना खोप नेपाली सेनाका जवानलाई लगाइने

भारतीय सेनाले दिएकाे कोरोना खोप नेपाली सेनाका जवानलाई लगाइने
तस्बिर : सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलको ट्विटरबाट।

काठमाडौं : भारतीय सेनाले नेपाली सेनालाई सहायतास्वरूप उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको एक लाख डोज ‘कोभिसिल्ड’ खोप सेनाका जवानलाई लगाइने भएको छ।

बाँकी रहेको अवस्थामा सेनाका परिवार (आश्रित परिवार)लाई लगाइने सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए। उनले भने, ‘पुग्यो भने आश्रित परिवारलाई पनि प्राथमिकताको आधारमा भ्याक्सिनेसन गर्छौं।’

यसअघि २० हजार फ्रन्टलाइनमा खटिने सेनालाई खोप लगाइएको सेनाले जनाएको छ। पहिलो डोज लगाएका सेनालाई पनि दोस्रो डोज यही खोप लगाइने छ। 

‘कोभिसिल्ड’ खोप आइतबार काठमाडौं आइपुगेको हो।

सेनाका प्रवत्ताले आइतबार राति ट्विट गर्दै भनेका छन्,‘नेपाली सेनाले कोभिड˗१९ महामारीको प्रतिकार्यमा सहयोग पुर्याउने उद्देश्यका साथ भारतीय सेनाद्वारा नेपाली सेनालाई उपलब्ध गराएकाे एक लाख डोज भ्याक्सिन आज काठमाडौं आइपुगेको छ।’ 

सेना प्रवक्ता पौडेलले आइतबार बेलुका (करिव साढे ८ बजे) एयर इन्डियाबाट खोप नेपाल आइपुगेको जनाएका छन्। 

प्रवक्ता पौडेलले भने, ‘हिजो बेलुका आइपुगेको हो। त्यसको फर्मल ह्याण्डओभर सेरमोनी बाँकी छ।’ 

प्राप्त खोप वीरेन्द्र सैनिक अस्पतालमा राखिएको सेनाले जनाएको छ।

सेनाले भर्चुअल किसिमले भारतीय सेनाले नेपाली सेनालाई औपचारिकरूपमा खोप हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताएको छ। मंगलबार औपचारिकरूपमा खोप हस्तान्तरण हुन सक्ने सेनाले जनाएको छ। 

दुई मुलुकका सेना प्रमुख तहबाट नै खोप हस्तान्तरण हुन सक्ने भए पनि कसको सहभागितामा हस्तान्तरण हुने भन्ने यकिन भइनसकेको सेनाले बताएको छ।

प्रवक्ता पौडेलले भने, ‘मिलिटरी टु मिलिटरी नै ह्याण्डओभर हुन्छ।’ 

औपचारिकरूपमा खोप हस्तान्तरण भएपछि खोप लगाइने उनले बताए। 

 

चैत १७, २०७७ मंगलबार ००:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।