काभ्रेपलाञ्चोकको पाँचखालमा जिओफिजिकल सर्भे सकियो, रिपोर्ट आउन तीन महिना लाग्ने

काभ्रेपलाञ्चोकको पाँचखालमा जिओफिजिकल सर्भे सकियो, रिपोर्ट आउन तीन महिना लाग्ने

काठमाडौं : काभ्रेपलाञ्चोकको पाँचखाल क्षेत्रमा जिओफिजिकल (भू–भौतिक सर्वेक्षण) सर्भे सम्पन्न भएको छ।

पुरातात्त्विक सम्पदा स्थलबारे सम्भाव्यता पत्ता लगाउन पुरातत्त्व विभाग र बेलायतको दुरहाम विश्वविद्यालयको विज्ञ टोलीको सहकार्यमा स्थलगत सर्भे गरिएको हो। सर्भे गत बिहीबार सुरु भएको थियाे। 

विभागका महानिर्देशक दामोदर गौतम सर्भेको रिपोर्ट आउन तीन महिनासम्म लाग्ने बताउँछन्।  ‘सर्भेबाट प्राप्त तथ्यांक विश्लेषण गर्न बेलायत पठाउनुपर्ने भएकाले यसको रिपोर्ट आउन समय लाग्ने भएको हो,’ उनले भने, ‘नेपालमा सर्भेको रिपोर्ट निकाल्ने न विज्ञ छन् न त उपकरण नै।’ 

पाँचखाल नगरपालिका–७, श्रीरामपाटी माल्टारमा २०७६ जेठमा गरिएको उत्खननका क्रममा लिच्छविकालीन र मध्यकालीन इतिहासको प्रमाण फेला परेका थिए। 

त्यतिबेला उत्खननका क्रममा दरबारको भग्नावशेष, माटोका पाइपलाइन, सिक्का, भाँडाकुँडा लगायत फेला परेका परेका थिए। 

उत्खननपछि विभागले तयार पारेको प्रतिवेदनमा सर्भेको आवश्यकता औंल्याइएको थियो। यसबारेको थप तथ्य पत्ता लगााउन विभागले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत सर्भे र ड्रोनमार्फत तस्बिर लिएको छ। 

सात स्थानमा सर्भे 

टोलीले पाँचखालका सात स्थानमा सर्भे गरी जमिनमुनिको अवस्था रेकर्ड गरेको छ।

सर्भेको नेतृत्व गरेको पुरातत्त्व अधिकृत विष्णु पाठकका अनुसार सर्भेका क्रममा पाँचखाल नगरपालिका–७ मा पर्ने सिमाली, रानीपोखरी, किटिनी (प्राचीन पाइपलाइन भेटिएको स्थान), कनिकेश्वर महादेवस्थान, माल्टार (दरबारको भग्नावशेष भेटिएको स्थान), थाडापाथ्रा र पाँचखाल–६, भमरकोट आसपासका क्षेत्रमा सर्भे गरिएको थियो।

सर्भेबाट जमिनको सतहबाट ३ मिटरसम्मको अवस्था रेकर्ड गरिएको बताइएको छ। स्थानीयको सहयोगमा सम्भाव्य स्थान छनोट गरी सर्भे गरिएको विभागका महानिर्देशक गौतमले जानकारी दिए।

‘पहिले भएको उत्खनन् र स्थानीयको किम्बदन्तीको आधारमा सात स्थानमा सर्भे गरिएको थियो,’ उनले भने, ‘स्थलगतरूपमा जमिनमुनिको अवस्था रेकर्ड भएको छ। रिपोर्ट आएपछि रहस्य खुल्ने छ।’ 

इतिहासमा पाँचखाल 

पाँचखाल क्षेत्रमा लिच्छविकालीन इतिहासको शिलालेख र अन्य प्रमाण फेला परेका छन्।

पलाञ्चोक उपत्यकामा वि.सं. १४७२ मा शक्तिसिंहराम बद्धनले शक्तिशाली राज्य सञ्चालन गरेको इतिहास छ।

शक्तिसिंहलाई तत्कालीन समयमा चीनका बादशाह ताहिमिङले विशेष दूतमार्फत पठाएको स्वर्णपत्र नेपाल–चीन सम्बन्धको पहिलो लिखित प्रमाणका रूपमा परराष्ट्र मन्त्रालयमा सुरक्षित छ। 

चैत १५, २०७७ आइतबार २२:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।