चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको ८ लाख डोज खोप भोलि काठमाडौं आइपुग्ने
काठमाडौं : चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्धको खोप भोलि (सोमबार) बिहान नेपाल आइपुग्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त परिणामको खोप सोमबार बिहान ८ बजे त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा आइपुग्ने छ।
चिनियाँ राजदूत होउ यान्छीले हिजो आफ्नो ट्विटर ह्याण्डलमा चीनले अनुदानमा दिने भनिएको ८ लाख डोज खोप नेपाललाई केही दिनमै उपलब्ध गराउने लेखेकी थिइन्।
चीनले सिनोफार्मको सहयोगमा बेइजिङ इन्स्टिच्युड अफ बायोलोजिकल प्रोडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेकोे ‘सार्स–कोभ–२ भ्याक्सिन (भेरो सेल), इनएक्टिभेटेड’ खोप नेपाललाई अनुदानमा दिएको हो।
नेपालमा यो खोपले आपतकालीन प्रयोगको अनुमति पाइसकेको छ।
मन्त्रालयका प्रवत्ता प्रा. डा. जागेश्वर गौतमले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई सो खोप हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी दिए।
चीनबाट आउने खोप टेकुको व्यवस्थापन महाशाखा (केन्द्र)मा राखिने उनले बताए। उक्त खोप दुई वर्षसम्म लगाउन मिल्ने प्रवक्ता गौतम बताउँछन्।
यसअघि भारतले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप अनुदानमा दिएको थियो। भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरी सेरम इन्टिचयुड अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो।
त्यसपछि नेपालले सोही कम्पनीले उत्पादन गरेको २० लाख डोज खोप किनेको थियो।
चैत १५, २०७७ आइतबार १९:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।