आज होली पर्व मनाइँदै, रङ खेल्दा सावधानी अपनाउन आग्रह

आज होली पर्व मनाइँदै, रङ खेल्दा सावधानी अपनाउन आग्रह

काठमाडौं : रङहरूको पर्व होली आज मनाइँदै छ। फागुन शुक्ल पूर्णिमाका दिन आज मनाइने यो पर्वमा एकापसमा रङ लगाउने प्रचलन छ।

फागुन शुक्ल पूर्णिमामा होली मनाइने भने पनि देशभर यो दुई दिन मनाइन्छ। देशका हिमाली एवं पहाडी जिल्लामा आज होली मनाइँदै छ। तराईका जिल्लामा भने भोलि होली मनाउने परम्परा छ। 

होलीको औपचारिक सुरुआत भने चीर ठड्याएदेखि नै सुरु हुन्छ। यो वर्ष यही चैत ८ गते वसन्तपुरमा चीर ठड्याएको थियो। उक्त चीरलाई आज टुँडिखेलमा विधिपूर्वक ढालेर जलाइन्छ।

हिन्दू शास्त्र अनुसार त्रेता युगमा हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्न ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादसँगै दन्किरहेको आगोमा पस्न लगाएका थिए। तर, उक्त आगोबाट होलिका भष्म भएकी थिइन् भने प्रह्लादलाई केही गरेको थिएन। 

पापकी प्रतीक होलीका मरेको खुसीयालीमा होली पर्व सुरु भएको किम्बदन्ती छ। 

यसैबीच, सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमणको दर बढेको भन्दै रङ खेल्दा सावधानी अपनाउन आग्रह गरेको छ। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सावधानी अपनाएर होली खेल्न आग्रह गरेका छन्। होलीको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो आग्रह गरेका हुन्। 

चैत १५, २०७७ आइतबार १०:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।