काठमाडौंका मेयरको दाबी– कमलपोखरी पुनःनिर्माणमा स्थानीयको विरोध छैन, बाहिरका मान्छेले अवरोध गरिरहेका छन् 

काठमाडौंका मेयरको दाबी– कमलपोखरी पुनःनिर्माणमा स्थानीयको विरोध छैन, बाहिरका मान्छेले अवरोध गरिरहेका छन् 

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले कमलपोखरी पुनःनिर्माणमा स्थानीयको विरोध नभएको र बाहिरका मान्छेले अनावश्यक अवरोध गरिरहेको दाबी गरेका छन्।

महानगरकाे वडा नम्बर १५ मा आज (शनिबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले भने, ‘कमलपोखरी पुनःनिर्माणमा स्थानीयको विरोध छैन। बाहिरका मान्छे कमलपोखरी पुगेर अनावश्यक अवरोध गर्ने प्रयास गरिरहेका छन्।’ 

उनले कमलपोखरी लगायतका स्थानमा सम्पदा अभियन्ताले अनावश्यक विरोध गरेको आरोपसमेत लगाए। ‘अभियन्ताका नाममा नागरिकलाई भ्रम छर्ने प्रयास भयो,’ उनले भने। 

सम्पदा अभियन्ताहरू कमलपोखरीको माटो अनुहारमा दलेर प्रधानमन्त्रीको राजीनामा माग्न बालुवाटार गएको प्रसंग निकाल्दै उनले प्रश्न गरे, ‘कमलपोखरीको माटो र प्रधानमन्त्रीको राजीनामाबीच के सम्बन्ध छ ? अभियन्ताले अनुहारमा कमलपोखरीको माटो दलेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने ?’ 

उनले समयमै कमलपोखरी पुनःनिर्माण सम्पन्न गर्ने दाबीसमेत गरे। 

चैत १४, २०७७ शनिबार १८:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।