जोशीको निधनमा कांग्रेसले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने
काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय सदस्य नविन्द्रराज जोशीको निधनमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ।
पार्टी केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले जोशीको शोकमा यही चैत १५, १६ र १७ गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यसमिति बैठकले पूर्वमन्त्रीसमेत रहेका जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको थियो।
साथै तीन दिनसम्म शोकका कार्यक्रमबाहेक पार्टीका अरु औपचारिक कार्यक्रम नगर्ने, चैत १७ मा केन्द्रिय कार्यालयसहित देशभरका सबै पार्टी कार्यालय बन्द गर्ने, १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा केन्द्र र सबै जिल्लामा भौतिक दूरी कायम गर्दै शोकसभा आयोजना गर्ने निर्णय गरेको मुख्यसचिव पौडेलले जानकारी दिए।
मस्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचार गराइरहेको जोशीको हिजो राति ८ः२४ बजे निधन भएको थियो।
जोशीको निधनबाट नेपाली कांग्रेस मर्माहत र स्तब्ध भएको कांग्रेसले जनाएको छ।
चैत १४, २०७७ शनिबार १७:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।