वायु प्रदूषणको मात्रा उकालो चढ्दै 

वायु प्रदूषणको मात्रा उकालो चढ्दै 

काठमाडौँ : देशका २०४ ठाउँमा डडेलो लागेको छ। डडेलोले ४९ जिल्ला प्रभावित भएका छन्। ग्राफ हेर्दा बिहानै २०४ ठाउँमा डडेलो लागेको देखिएको डडेलो अध्येता सुन्दर प्रसाद शर्माले बताए। बिहानै यति धेरै ठाउँमा डडेलो लाग्नु खतरनाक भएको शर्मा बताउँछन्। 

डडेलोको धुवाँले वायु मण्डललाई प्रदूषित बनाएको छ। यसलाई अङ्ग्रेजीमा एटमोसफेरिक ब्राउन क्लाउड भनिन्छ। यसको नेपाली करण नभएको अध्येता शर्माले बताए। ‘अहिले धेरै डडेलो लाग्ने समय होइन,’उनले उकेरासँग भने,‘आज एकै दिन ५ सय ठाउँमा डडेलो लाग्ने बिहानैको देखिएको ग्राफले सङ्केत।’ त्यसैले यो खतरनाक भएको उनको भनाई छ। 

नेपालमा सन् २००९ मा एकै दिन ४२० ठाउँमा डडेलो लागेको रेकर्ड छ। त्यो पनि वैशाखको दोस्रो हप्ता लागेको थियो। ‘पिक फायरको समयमा अझ धेरै ठाउँमा डडेलो लाग्दा पोलुसनको मात्रा बढ्छ,’ उनले भने,‘यो मानव सृजित पोलुसन हो।’ 

काठमाडौँको वायुमण्डलमा वायुको प्रदूषण डडेलोको धुवाँका कारण बढेको छ। आगलागी, गाडीको धुवाँ, उद्योग कलकारखानाको धुलो र धुवाँले बायु प्रदर्शन बढेको डडेलो अध्येता शर्मा बताउँछन्। बायु प्रदूषणको मात्रा उकालो चढ्दै जाने उनको अनुमान छ। 

वातावरणविद् भूषण तुलाधर भने अहिलेको वातावरण प्रदूषणलाई नौलो मान्नु नपर्ने बताउँछन्। दुई तीन महिना अगाडी पनि काठमाडौँको वायु अहिलेजस्तै प्रदूषित भएकाले नौलो मान्नु नपर्ने उनको भनाई छ। 

तर, बारम्बार वायु प्रदूषण हुनु राम्रो नभएको तुलाधरले बताए। ‘काठमाडौँको दक्षिण र पश्चिमी भेगतिर डडेलो लाग्दा वायु प्रदूषण बढ्छ,’ वातावरणविद् तुलाधरले उकेरासँग भने, ‘डडेलो नियन्त्रण गर्न योजना नै बनाएर सरकारले काम गर्नुपर्छ।’

तत्कालै पानी पर्ने सम्भावना नदेखिँदा आगलागीका घटना बढ्ने उनले बताए। जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित फाटफुट हल्का वर्षा हुने सम्भावना रहेको जनाएको छ। ‘एक दुई दिन ठुलो पानी पर्ने सम्भावना देखिँदैन,’ मौसमविद् गङ्गा नगरकोटीले भनिन् ‘आकाशमा लागेको हेज (तुवाँलो) पानी परे या हावाको गति बढेमा पर्सि सोमबारबाट सुधार हुने देखिन्छ।’

चैत १४, २०७७ शनिबार ११:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।