कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन
काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ।
मस्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार बेलुका ८ः२४ बजे मृत्यु भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अस्पतालका कर्पोरेट कम्युनिकेसन एण्ड पिआर डिपार्टमेन्ट प्रमुख सोमनाथ बास्तोलाले मस्तिष्कघातको उपचार गराइरहेका जोशीको निधन भएको बताए।
गत फागुन १४ गते मस्तिष्कघात भएपछि जोशीलाई अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा राखेर भेन्टिलेटरको सहायतामा उपचार गरिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
‘शुक्रबार बिहानदेखि उहाँको मुटुले समेत काम गर्न छाडेको थियो,’ विज्ञप्तिमा भनिएको छ।
अस्पतालका वरिष्ठ न्युरो सर्जन डा. राजीव झाले उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा जोशीको निधन भएको बताएको विज्ञप्तिमा उल्लेख छ।
जोशीको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्।
‘उहाँको निधनको खबरले मर्माहित छु। कांग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ,’ सभापति देउवाले आफ्नो ट्विटर ह्याण्डलमा लेखेका छन्।
नेता जोशीको पार्थिव शरीर भोलि दिउँसो १२ बजेदेखि अपराह्न २ बजेसम्म ललितपुर, सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय राखेर श्रद्धाञ्जली अर्पण गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन्।
शोक प्रस्ताव पारित गर्न कांग्रेसले बोलायो आकस्मिक बैठक
कांग्रेसले शनिबार केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ। नेता जोशीको निधनप्रति शोक प्रस्ताव पारित गर्न कांग्रेसले आकस्मिक बैठक बोलाएको हो।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै भोलि बिहान साढे ११ बजे केन्द्रीय समिति बैठक बोलाएको जानकारी दिए।
चैत १३, २०७७ शुक्रबार २३:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।