वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावललाई कारबाही गर्ने ओलीको तयारी 

वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावललाई कारबाही गर्ने ओलीको तयारी 

काठमाडौँ : नेकपा एमाले संसदीय दलले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाहीको तयारी गरेको छ। संसदीय दलको आज बसेको बैठकले नेपाल र रावलले बुझाएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै कारबाहीको भागिदार रहेको निष्कर्ष निकालेको हो। 

स्पष्टीकरण नकारात्मक भएको भन्दै कुन प्रकृतिको कारबाही गर्ने भनेर आगामी केन्द्रीय कमिटीको बैठकले निर्धारण गर्ने बैठकपछि संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए। छुट्टै गुटगत र समूहगत भेला गरेको भन्दै एमाले केन्द्रीय कमिटीले नेपाल, रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेको थियो। 

नेपाल र रावलले स्पष्टीकरण बुझाए पनि भुसाल र पाण्डेले बुझाएका छैनन्। संसदीय दलको बैठकमा प्रधानमन्त्री एवं दलका नेता केपी शर्मा ओलीले समूहगत र गुटगत डिलिङ नगर्ने बताएका सचेतक भट्टराईले जानकारी दिए। 

ओलीले फागुन २८ गते र त्यसपछि भएका निर्णयबाट पार्टी पछाडि नहट्ने बताए। ‘बोलाउँदा आउनु भएन,’ उनले बैठकमा भने, निर्णय फिर्ता लिएर पछाडि फर्कने कल्पना नगर्नु भए हुन्छ।’ उनले संसदीय दलको विधान केन्द्रीय कमिटीले अनुमोदन गरिसकेको भन्दै आवश्यक परे संशोधन हुने बताए। 

बैठकमा प्रधानमन्त्री ओलीले चैत्र महिनामा संसद्को चालु अधिवेशन अन्त्य गरेर वैशाखमा बजेट अधिवेशन बोलाउने तयारी सरकारले गरेको जानकारी समेत गराएको सचेतक भट्टराईले बताए। ‘चैत्रको अन्तिममा संसद्को चालु अधिवेशन स्थगित हुन्छ,’ उनले भने, ‘वैशाखबाट बजेट अधिवेशन आव्हान गर्छौ।’ 

बैठकमा खनाल नेपाल पक्षका सांसदहरूले पार्टीलाई एकताबद्ध बनाउने काम ओलीको भएको बताएका थिए। उनीहरूले ठुलो छाती बनाएर पार्टीलाई एकताबद्ध बनाउन ओलीलाई आग्रह गरेका थिए। २०७५ जेठ २ गते नै फर्केर पार्टीलाई अगाडी बढाउनु पर्ने मागमा ओलीले जेठ २ मै फर्केर फागुन २८ गते निर्णय गरेको जिकिर गरे।

चैत १३, २०७७ शुक्रबार १८:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।