ओलीलाई खनालले भने : 'जसो गर्नुहुन्छ गर्नुहोस्, म बिदा हुन्छु'
काठमाडौँ : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालतको परमादेशपछि पार्टी २०७५ जेठ २ गतेकै अवस्थामा फर्किएको बताएका छन्।
वरिष्ठ नेता खनालले सर्वोच्चको फैसला पछि प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीलाई आफूले गरेका निर्णय फिर्ता लिएर पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरे।
पार्टी संसदीय दलको बालुवाटारमा बसेको बैठकमा खनालले एमाले ब्युँतिएपछि भएका निर्णय अवैध भएको भन्दै निर्णय फिर्ता लिन ओलीलाई आग्रह गरेको जानकारी दिए। ‘सर्वोच्चको फैसलाले एकीकरण भङ्ग गरी फेरी दुई पार्टी बनाइदियो,’ खनालले उकेरासँग भने,‘अब जेठ २ कै केन्द्रीय कमिटीको विधि सम्मत बैठक राखेर पार्टीलाई एकताबद्ध बनाउन म प्रधानमन्त्रीलाई आग्रह गर्दछु।’
उनले एमाले संसदीय दलको विधान नबनेको र एकीकरण भएर बनेर सर्वोच्चको आदेशले भङ्ग भएको नेकपा समझदारीकै आधारमा चले पनि अब विधि र प्रक्रिया अनुसार दलको विधान बनाउन माग गरे। ‘विधान बनाएर दललाई परिचालित गर्नुपर्छ,’ उनले भने,‘तब मात्रै पार्टी एकता बाँच्छ।’
उनले एमाले पार्टीलाई एकताबद्ध गराउन अत्यन्तै कठिन रहेको बताए। ‘एकता बचाउने, नबचाउने तपाईँको हातमा छ,’ खनालले बैठकमा भने,‘जसो गर्नुहुन्छ गर्नुहोस्, म बिदा हुन्छु।’ आफ्ना कुरा राखेर आफू बैठकबाट बाहिरिएको नेता खनालले बताए।
बैठकमा खनालले पुस ५ को विघटनकारी निर्णयले मृत्यु भएको संसदीय दल र संसद् सर्वोच्चको फैसलाले ब्युँतिएकोमा सबैलाई बधाई दिएको बताए।
चैत १३, २०७७ शुक्रबार १७:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।