संसदीय दलको बैठकमा सहभागी हुन बालुवाटार पुगे खनाल-नेपाल पक्षका सांसद
काठमाडौँ : नेकपा एमाले झलनाथ खनाल र माधव कुमार नेपाल समूहले तत्काल केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरेको छ। खनाल-नेपाल समूहका केन्द्रीय सदस्यहरूको भेलाले केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्ने भेलामा सहभागी एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए।
मरेको एमालेलाई ब्युँतिएकै ठाउँबाट बैठक बोलाउन माग गर्ने भेलाले निर्णय गरेको उनले बताए। २०७५ जेठ २ गतेकै संरचनामा बैठक बोलाए मात्रै केन्द्रीय कमिटी बैठकमा सहभागी हुने एमालेका अर्का नेता एवं सांसद जीवनराम श्रेष्ठले बताए।
भेलाबाट खनाल-नेपाल समूहका सांसद संसदीय दलको बैठकमा सहभागी हुन बालुवाटार गएका छन्। ‘संसदीय दलको बैठकमा नजाने भन्ने होइन,’ सांसद श्रेष्ठले भने,‘दलको बैठक बालुवाटारमा नराख्न पटक पटक असहमति जनाउँदा पनि बालुवाटारमै राखेपछि आएका हौ।’
असहमतिकाबिच नै दलको बैठकमा सहभागी भएको बताउँदै श्रेष्ठले बैठकमा प्रस्तुत हुने एजेन्डा अनुसार कुरा राख्ने बताए। ‘एजेन्डा हेरेर के गर्ने भन्ने हुन्छ,’ उनले भने,‘राम्रो एजेन्डाको समर्थन हुन्छ र नराम्रो एजेन्डाको विरोध हुन्छ।’
खनाल-नेपाल समूहको भेलापछि पत्रकारसँग सांसद सुरेन्द्र पाण्डेले भने बैठकमा सहभागी हुने र नोट अफ डिसेन्ट लेखेर फर्कने बताएका थिए।
चैत १३, २०७७ शुक्रबार १५:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।