कर्णाली नदीमा हाम फालेकी सुकीका श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा
सुर्खेत : चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी सुकीका श्रीमान् मानसिंह बडुवाल विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ।
दैलेखको आठबिसकोट नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल फागुन २३ गते चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी थिइन्।
उक्त घटनामा सुकीका श्रीमान् ४३ वर्षीय मानसिंहलाई कारबाहीको माग गर्दै सुकीका भाइ बजिर बहादुर थापाले जिल्ला प्रहरी कार्यालय दैलेखमा चैत्र ४ गते ज्यान सम्बन्धी कसुर (आत्महत्या दुरुत्साहन) मुद्दा दर्ता दर्ता गरेका हुन्।
मुद्दा दायर भइसकेपछि मानसिंहलाई दैलेख प्रहरीले पक्राउ गरेर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान थालेको प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए। सुनारका अनुसार १० दिनको म्याद चैत्र १६ मा सकिदैछ।
गत फागुन २३ गते सुकीले आफ्ना छोरीहरू १४ वर्षीया कल्पना, ११ वर्षीया सरिता, ५ वर्षीया रजनी र ९ वर्षीय छोरा ललितलाई लिएर दैलेख र अछामको बिचमा पर्ने कर्णाली नदीमा हाम फालेकी थिइन्।
फागुन २४ गते बेलुका छोरीहरू कल्पना र सरिताको शव भेटिएको थियो भने त्यसको भोलिपल्ट बिहान सुकी र छोरा ललितको शव भेटिएको थियो। कान्छी छोरी रजनीको शव भने त्यसभन्दा करिब ९ किलोमिटर तल असराघाटमा भेटिएको थियो। पाँचै जनाको शवको पोस्टमार्टम अछामको मङ्गलसेनस्थित जिल्ला अस्पतालमा गरिएको थियो। पोस्टमार्टम रिपोर्ट अनुसार सुकीको पेटमा चार महिनाको बच्चा समेत थियो ।
चैत १३, २०७७ शुक्रबार १३:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।