जनगणनाका लागि ५५ प्रतिशत महिलाको आवेदन, ८७ जना अन्य लिङ्गीको पनि आवेदन

जनगणनाका लागि ५५ प्रतिशत महिलाको आवेदन, ८७ जना अन्य लिङ्गीको पनि आवेदन

काठमाडौँ : राष्ट्रिय जनगणना २०७८ का लागि १ लाख ९० हजारले आवेदन दिएका छन्। गणकका लागि १ लाख ३६ हजार, सुपरिवेक्षकका लागि १८ हजार ५१३ र दुवै पदमा ३३ हजार ८०९ जनाको आवेदन दर्ता भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ। 

विभागले जनगणनाका लागि गणक र सुपरिवेक्षक पदमा अनलाइन आवेदन आव्हान गरेको थियो। चैत ११ गतेसम्म अनलाइन दर्ताको समय थियो। २ सय जति अफलाइन आवेदन परेको विभागले जनाएको छ। 

आवेदन दिनेमध्ये ५५ प्रतिशत महिला रहेको विभागका निर्देशक ढुण्डिराज लामिछानेले जानकारी दिए। यो पटक अन्य लिङ्गीले पनि आवेदन दिएका छन्। 

८७ जना अन्य लिङ्गीले जनगणनाको गणक र सुपरिवेक्षकमा आवेदन दिनु राम्रो पक्ष भएको निर्देशक लामिछानेले बताए। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई सरकारले अन्य लैङ्गिक पहिचान दिन थालेसँगै विभागले आवेदन दर्ता फारममा पुरुष, महिला र अन्य लिङ्गी राखेको थियो। 

विभागले दर्ता भएका आवेदनको रुजु गर्ने काम गरिरहेको जनाएको छ। ‘सुपरिवेक्षकको तालिम सुरु गरिहाल्नु पर्नेछ,’ विभागका निर्देशक लामिछानेले उकेरासँग भने,‘चैत २० गते अगाडी नै सुपरिवेक्षक छनोट भइसक्छ।’ 

विभागले आवेदन दिएका मध्येबाट गणक र सुपरिवेक्षकमा ४७ देखि ५० हजार जना छनौट गर्ने बताएको छ। गणकको छनोट भने वैशाख १५ गते भित्र हुने उनले बताए।

चैत १३, २०७७ शुक्रबार ११:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।