२० औं सत्याग्रह बस्ने डा. केसीको चेतावनी

२० औं सत्याग्रह बस्ने डा. केसीको चेतावनी

काठमाडौं : चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफ्ना दुई बुँदे माग पूरा नभए २० औं सत्याग्रह बस्ने चेतावनी दिएका छन्। 

उनले आज (आइतबार) प्रेस विज्ञप्ति जारी गर्दै विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षामन्त्री लगायतको निर्देशनमा दिन लागिएको झापास्थित बिएण्डसी कलेजको सम्बन्धन प्रक्रिया रोक्न र प्रधानमन्त्रीको राजीनामा गर्न माग गरेका हुन्। माग पूरा नभए जुनसुकै बेला सत्याग्रह बस्ने उनको चेतावनी छ। 

‘...प्रधानमन्त्री केपी शर्मा ओली तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको गैरकानुनी निर्देशन तथा काठमान्डु विश्वविद्यालय तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका भ्रष्ट उपकुलपतिहरूको मिलेमतोमा उनीहरूका अर्थ–राजनीतिक साझेदारले सञ्चालन गरेको झापास्थित किबएण्डसी अस्पताललाई कानुन छलेर अवैधरूपमा दिन लागिएको मेडिकल कलेजको सम्बन्धनको प्रक्रिया रोक्न माग गर्छाैं। साथै, नैतिकरूपमा पतित, भ्रष्ट र अपराधिक नेतृत्वबाट मुलुकलाई मुक्ति दिनका लागि प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनु पर्छ भन्ने मान्यता राख्छौं...,’ विज्ञप्तिमा भनिएको छ। 

चिकित्सा शिक्षा सुधारका लागि यसअघि उनले १९ औं पटकसम्म सत्याग्रह बसिसकेका छन्। त्यसअवधिमा सरकारले आफूहरूसँग गरेको सम्झौताको कार्यान्वयन नगरेकाे उनको आराेप छ। 
 

चैत १, २०७७ आइतबार २०:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।