माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पार्टीबारे रिपोर्टिङ पेस, भोलि फेरि बस्ने

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पार्टीबारे रिपोर्टिङ पेस, भोलि फेरि बस्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक भोलि फेरि बस्ने गरी सकिएको छ। 

कोटेश्वर पेरिसडाँडास्थित पार्टी कार्यालयमा आज बसेको बैठकमा केन्द्र, प्रदेश, उपत्यका, प्रवास र सम्पर्क समितिमा पार्टीको पछिल्लो अवस्थाबारे रिपोर्टिङ पेस गरिएकाे नेता देव गुरुङले जानकारी दिए। 

बैठकमा केन्द्रको तर्फबाट प्रवक्ता नारायणकाजी श्रेष्ठ जानकारी दिएका थिए। यस्तै,  प्रदेश १ बाट सहइन्चार्ज सावित्रीकुमार काफ्लेले रिपोर्टिङ गरेका थिए। यस्तै, प्रदेश २ बाट विश्वनाथ शाह, बाग्मतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्तीले प्रदेशमा पार्टीको वर्तमान अवस्थाबारे जानकारी दिएका थिए। 

यसैगरी कर्णाली प्रदेशका सचिव मायाप्रसाद आचार्य र सुदूररपश्चिम प्रदेशका सचिव नेपबहादुर चौधरीले प्रदेशमा आ–आफ्नो संगठनबारे बैठकलाई जानकारी दिएका थिए। 

उपत्यका समन्वय समितिका तर्फबाट लीलामणि पोखरेल तथा सम्पर्क समितिका तर्फबाट प्रह्लाद बुढाथोकी र प्रवास कमिटीका तर्फबाट युवराज चौलागाईंले रिपोर्टिङ पेस गरेको माओवादी केन्द्रले जनाएको छ। 

त्यसअघि बैठकको सुरुमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक अवस्थाबारे संक्षिप्त धारणा राखेका थिए। 

बैठक भोलि बिहान ११ बजे पुनः बस्ने नेता गुरुङले जानकारी दिए। 

चैत १, २०७७ आइतबार १८:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।