ओलीविरुद्ध माधव समूह पुग्यो निर्वाचन आयोग

ओलीविरुद्ध माधव समूह पुग्यो निर्वाचन आयोग

काठमाडौँ : पदाधिकारी खारेज गर्ने र केन्द्रीय सदस्य मनोनीत गर्ने केपी ओली समूहको निर्णयलाई मान्यता नदिन माग गर्दै एमालेका माधव नेपाल समूह निर्वाचन आयोग पुगेको छ।

नेपालसहित ११ जनाले हस्ताक्षर गर्दै आयोगमा बुझाएको पत्रमा ‘ पदाधिकारीहरूलाई हटाउने, केहीको जिम्मेवारी हेरफेर गर्ने र केन्द्रीय सदस्यहरू थप्ने निर्णय पार्टीको विधान विपरीत रहेको दाबी गरिएको छ।

पत्रमा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूलाई जानकारी नै नदिई स्वेच्छाचारी रूपमा बैठक राखेर निर्णयहरू गरेको भन्दै अनधिकृत रूपमा निर्णयलाई मान्यता नदिन माग गरिएको छ।

पत्रमा नेपाल सहित, झलनाथ खनाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, घनश्याम भुसाल, भीमप्रसाद आचार्य, गोकर्णराज विष्ट, योगेशकुमार भट्टराई, मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डेले हस्ताक्षर गरेका छन्।

सर्वोच्च अदालतको परमादेशमा नेकपा पूर्ववत् एमाले र माओवादी केन्द्रको रूपमा फर्किएपछि ओलीले बालुवाटारमा बैठक राखेर आफू र महासचिव बाहेक सबै पदाधिकारी खारेज गर्ने, माओवादीका रामबहादुर थापा बादल सहितको समूहकालाई केन्द्रीय सदस्य मनोनीत गर्ने र प्रदेश इन्चार्जको जिम्मेवारी फेरबदल गर्ने निर्णय गरेको थियो।

ओलीले सो बैठकलाई पार्टीको केन्द्रीय समितिको बैठक दाबी गरे पनि माधव समूहले भने त्यसलाई गुटगत भेला मात्र भएको दाबी गर्दै आएको छ।

चैत १, २०७७ आइतबार १८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।