लहान मालपोतमा बम विस्फोट : गोइत समूहको पर्चा भेटियो
काठमाडौं : सिरहाको लहानस्थित मालपोत कार्यालयको बम विस्फोट भएको ठाउँमा जनतान्त्रिक तराई मुक्ति मोर्चा (गोइत समूह)को पर्चा भेटिएको छ।
जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सुदीप राजभण्डारीले विस्फोट स्थलमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको पुष्टि गरे।
विस्फोट स्थलमा गोइत समूहको पर्चा भेटिएकाले उक्त समूहले बम विस्फोट गराएको प्रहरीको आशंका छ।
मालपोत कार्यालयमा आज दिउँसो १२ः४५ बजे प्रेसर कुकर बम विस्फोट भएको थियो। विस्फोटमा परी आठ जना घाइते भएका छन्। तीमध्ये एकको अवस्था गम्भीर छ।
गम्भीर घाइते ३० वर्षीया दिनेशकुमार भण्डारीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइने एसपी सुदीप राजभण्डारीले बताए।
अन्य घाइतेको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
चैत १, २०७७ आइतबार १५:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।