माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज (आइतबार) बस्दै छ।

कोटेश्वर, पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बैठक सुरु हुने नेता गणेश शाहले जानकारी दिए। 

उनका अनुसार बैठकमा वर्तमान राजनीतिक अवस्थासँगै साविकको नेकपामा ओली समूहमा रहेका नेताको कारबाही प्रक्रियालगायत बारेमा छलफल हुने छ। 

यसअघि हिजो सम्पन्न माओवादी केन्द्रको स्थायी समिति बैठकले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता आउन निर्देशन दिइसकेको छ।

माओवादी केन्द्रबाट रामबहादुर थापा गृहमन्त्री, टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री, लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, प्रभु साह सहरी विकासमन्त्री, मणि थापा खानेपानीमन्त्री, गौरीशंकर चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र दावा लामा युवा तथा खेलकुदमन्त्री छन्। 

यस्तै, बैठकले पार्टी परित्याग नगरी एमालेको जिम्मेवारी स्वीकारेका नेताहरूलाई स्पष्टीकरणसमेत सोधेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर समूहको बैठकले थापासहित माओवादी केन्द्रका २३ जना नेतालाई केन्द्रीय सदस्य मनोनित गरेको थियो। साथै थापालाई एमालेको बाग्मती प्रदेश र भट्टलाई सुदूरपश्चिम प्रदेशको इन्चार्जसमेत तोकेको थियो। 

चैत १, २०७७ आइतबार १०:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।