काठमाडौँ महानगर भित्रका विद्यालयमा अब स्थानीय भाषाको पाठ्यक्रम
कार्यक्रममा मन्त्री श्रेष्ठले तल्लो तहदेखि नै काठमाडौँ चिनौँ पाठ्यक्रम लागु गरेर स्थानीय भाषाका लागि रोजगारीको अवसर समेत सिर्जना गरेको बताए।
प्रमुख शाक्यले यःमरि, मरुहिटी, क्वहिटी, थँहिटी आदि जस्ता रैथाने शब्दहरू अरू भाषामा बुझाउन नसकिने बताए। शाक्यले काठमाडौँ नेवारहरूको बाहुल्यता रहेको ठाउँ भएको र यहाँ ७७ वटै जिल्लामा नागरिक बसोबास गर्ने भएकाले सबैलाई यहाँको हावापानी, संस्कृति, परम्पराबारे जानकारी दिने उद्देश्यले यो शिक्षा लागु गरेको जानकारी दिए।
उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि यहाँका गुठी–परम्परा, जात्रा–पर्वलगायतका बारेमा विदेशमा जानकारी दिनलाई शिक्षा उपयोगी हुने बताइन। आधारभूत तह कक्षा १ देखि कक्षा ८ सम्म हुने भए पनि आज कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक विमोचन गरिएको छ।
पाठ्यपुस्तक र पाठ्यक्रम लेखनमा सुरुदेखि सहभागी हुँदै आएका वरिष्ठ संस्कृतिविद् डा. चुन्दा बज्राचार्य पाठ्यपुस्तक नेपालभाषामा लेखिएको भए पनि यो भाषा सिकाउने पुस्तक नभएको बताउँछन्। पाठ्यपुस्तकमा काठमाडौँ महानगरभित्र रहेका विभिन्न जात्रा, पर्व, ढुंगेधारा, पाटी, सत्तल, व्यक्ति आदि सम्बन्धी पाठहरू मात्र समावेश गरिएको उनको भनाई छ।
बालबालिकालाई सिक्न सजिलो होस भन्ने उद्देश्यले १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठन–पाठन गरिने छ।
काठमाडौँ महानगरपालिकाको सातौँ नगरसभाले स्थानीय पाठ्यक्रम अन्तर्गत स्थानीय महत्त्वका विषयहरू बारे महानगरवासीलाई परिचित गराउने उद्देश्यले स्थानीय भाषाबाटै पठनपाठन गर्ने निर्णय गरेको थियो।
फागुन २८, २०७७ शुक्रबार १९:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।