एमालेमा ओलीको एकतर्फी निर्णय: माधव पक्षका पदाधिकारी हटाइए, महाधिवेशन मिति तोकियो
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई सहभागी नगराई एकतर्फी निर्णय गरेका छन्। आफू निकट केन्द्रीय सदस्यहरूको बालुवाटारमा बैठक बसाएर ओलीले पार्टीको दसौँ महाधिवेशनको मिति समेत तोके।
माधव पक्ष चैत १ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठकमा सहभागी भएर आफ्ना कुरा राख्ने तयारीमा थियो। वरिष्ठ नेता झलनाथ खनालले केन्द्रीय कमिटी बैठकमा पार्टीलाई एक ढिक्का बनाएर लैजान आग्रह गर्ने बताएका थिए। तर ओलीले उनीहरूलाइ जानकारी नै नदिइ एकतर्फी रूपमा बैठक राखेर महत्वपूर्ण निर्णय गराए।
आगामी मङ्सिर २ देखि ६ गतेसम्म पार्टीको दसौँ महाधिवेशन गर्ने निर्णय ओलीले गरेका हुन्। बैठकले पार्टी प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिएको नेता सुभाष चन्द्र नेम्वाङले जानकारी दिए।
एमाले र माओवादी केन्द्रबिचको पार्टी एकीकरण बदर भएसँगै ओलीले नेपाल पक्षलाई सहभागी नगराई बैठक राखेका हुन्। बैठकले माओवादी केन्द्रका रामबहादुर थापा बादललाई बागमती, मणि थापालाई कर्णाली र लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज समेत बनाएको छ।
यस्तै प्रदेश १ को इन्चार्जमा सुभाष नेम्वाङ, २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुव्वा गुरुङ, लुम्बिनीमा शङ्कर पोखरेल तोकिएका छन्। यी सबै ओली निकट हुन्।
बैठकमा ओलीले माओवादी केन्द्रका २३ जनालाई केन्द्रीय कमिटीमा मनोनीत समेत गरे। ओलीले सङ्गठन विभागको जिम्मा विष्णु पौडेललाई र विदेश विभागको जिम्मेवारी राजन भट्टराई दिएका छन्।
स्कुल विभाग प्रमुखको जिम्मेवारी आफैले राखेका ओलीले चैत ७ गते अर्को बैठक बस्ने जानकारी गराएकाे एक नेताले बताए। उनले बैठकका निर्णयबारे माधव नेपाल पक्षलाई जानकारी गराउन भनेका एक नेताले जानकारी दिए।
फागुन २८, २०७७ शुक्रबार १७:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।