बलात्कारको मुद्दा बिगार्ने न्यायाधीशलाई उच्च अदालत ‘उपहार’

बलात्कारको मुद्दा बिगार्ने न्यायाधीशलाई उच्च अदालत ‘उपहार’

काठमाडौँ : बलात्कारको मुद्दामा पीडित पक्षलाई बहसै नगराई प्रतिवादीलाई सफाइ दिएर विवादमा तानिएका जिल्ला अदालत सुनसरीका न्यायधीश अर्जुनप्रसाद कोइराला उच्च अदालत वीरगन्जमा नियुक्तिको सिफारिसमा परेका छन्।

सिद्ध बाबा भनिने कृष्ण गिरीलाई सफाइ दिएर विवादमा आएका कोइरालालाई न्याय परिषद्ले उनलाई उनलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा नियुक्तिका लागि सिफारिस गरेको हो।

कोइरालाको इजलासले बलात्कार सम्बन्धी प्राप्त प्रमाणको एकतर्फी व्याख्या गर्दै पीडितको बलात्कार नभएको उल्टो उनले शरीर समर्पण गरेको अपव्याख्या गर्दै गिरीलाई सफाइ दिने फैसला गरेका थिए। फैसला नै विवादमा तानिएको थियो। फैसला विवादमा आएपछि सरकारी पक्ष त्यसको पुनरावेदनमा जाने बताएको थियो।

बलात्कार जस्तो जघन्य अपराधको फैसलामा विवादमा तानिएका न्यायधीशलाई न्याय परिषद्ले उल्टो पुरस्कृत गर्दै उच्च अदालतमा पठाउन सिफारिस गरेको हो ।

२०७६ पुस १० मा गिरी विरुद्ध बलात्कारको मुद्दा दायर भएको थियो। उनको एक अनुयायीले आफूलाई कुटीमा बोलाएर बलात्कार गरेको आरोप लगाएकी थिइन्। सो मुद्दामा जिल्ला अदालतले प्रारम्भमा गिरीलाई धरौटीमा छाडेकोमा उच्च अदालतले त्यसलाई उल्टाएर पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्ला अदालत सुनसरीले २०७७ मङ्सिरमा फैसला सुनाउँदै सफाइ दिएको थियो।

 

फागुन २८, २०७७ शुक्रबार १६:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।