नेकपा एमाले प्रधानमन्त्री पद छोड्नु परे प्रतिपक्षमा बस्ने
काठमाडौँ : नेकपा एमालेले केपी ओली बाहेक अरू दलको नेतालाई प्रधानमन्त्रीमा समर्थन नगर्ने बताएको छ। अरू दलको नेतृत्वमा बन्ने सरकारलाई समर्थन नगर्ने बरु प्रतिपक्षीमै बस्ने एमालेको अडान रहेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए।
अहिलेसम्म सरकारले पाएको समर्थन फिर्ता नभएकाले वर्तमान सरकार अल्पमतमा नपरेको उनको भनाई छ। समर्थन फिर्ता भए पनि नयाँ सरकार बनाउन माओवादी र काँग्रेसलाई भन्दा एमालेलाई सजिलो हुने उनले बताए। ‘बहुमत पुर्याउन १८ सिट भए पुग्छ,’ उनले भने,‘माओवादी केन्द्र (उहाँहरू) जुनसुकै सर्तमा एमालेबिनाको सरकार बनाउन लाग्नु भएको छ।’
भट्टराईले उकेरासँग भने, ‘समर्थन फिर्ता लिए भने ३० दिन भित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ।’ सर्वोच्च अदालतको परमादेशपछि बिउँतिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र २०७५ जेठ ३ गतेअघिकै अवस्थामा पुगेका छन्।
प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै आएको नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छैन। उसले नैतिकताका आधारमा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनु पर्ने बताउँदै आएको छ।
फागुन २८, २०७७ शुक्रबार ११:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।