जसपाको समर्थन खोज्दै एमाले, केन्द्रीय कमिटी बैठक चैत १ मा बस्ने

जसपाको समर्थन खोज्दै एमाले, केन्द्रीय कमिटी बैठक चैत १ मा  बस्ने

काठमाडौँ : सर्वोच्च अदालतको परमादेशपछि ब्युँतिएको नेकपा एमालेले सत्ता समीकरणको विषयमा आजपनि जनता समाजवादी पार्टी नेपालसँग छलफल गर्ने भएको छ। जसपाले राखेका माग सम्बोधनका विषयमा सत्तारुढ एमालेले दिउँसो ४ बजेपछि छलफल गर्न लागेको हो। 

जसपाले सरकारलाई समर्थन गर्न मधेस आन्दोलनका मुद्दा उठाएको छ। उसले जेलमा रहेका रेसम चौधरीको रिहाइ हुनुपर्ने सर्त पनि राखेको छ। उसले राखेका मागमा बालुवाटारमा आजपनि अनौपचारिक छलफल हुने एमाले नेता सुभाषचन्द्र नेम्वाङले जानकारी दिए। 

अहिलेसम्म भएका छलफलमा जसपा सकारात्मक बनेको उनले बताए। उनका अनुसार दलहरूसँग भएका छलफल र पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न चैत १ गते एमाले केन्द्रीय कमिटीको बैठक बोलाइएको छ। 

२०७५ जेठ ३ गते नेकपा माओवादी केन्द्रसँग भएको पार्टी एकीकरण सर्वोच्चले बदर गरिदिएपछि पहिलो पनि एमाले केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका नेताहरू पनि सहभागी हुनेछन्। ‘उहाँहरू आउँछु भनिरहनु भएको छ,’ नेम्वाङले भने,‘आउनु हुन्छ होला।’

फागुन २८, २०७७ शुक्रबार ०८:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।