यौन दुर्व्यवहार गर्ने र दुर्व्यवहारमा पर्ने सैनिक अधिकृत बर्खास्त
काठमाडौँ : नेपाली सेनाले महिला सैनिकमाथि यौन दुर्व्यवहार गरेको आरोप पुष्टि भएपछि एक सहायक रथीलाई बर्खास्त गरेको छ। आफू यौन दुर्व्यवहारमा परेको लुकाएको आरोपमा महिला अधिकृतलाई समेत बर्खास्त गरेको छ।
यौन दुर्व्यवहारको घटना खुलेपछि अनुसन्धान गर्न गठन भएको कोर्ट अफ इन्क्वायरीले पञ्कज कार्की सुडानमा शान्ति मिसनमा खटिदा र नेपाल आएपछि र २८ नम्बरको बाहिनीपती हुँदा यौन दुर्व्यवहार गरेको पुष्टि भएपछि एक साता अगाडि उनलाई बर्खास्त गरेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी सन्तोषबल्लभ पौड्यालले जानकारी दिए।
सो घटना पीडितबाट सङ्गठनले जानकारी नपाई उनी बाहिनीपती हुँदा सहायक बाहिनीपतीसँग विवाद हुँदा हेडक्वार्टरले घटनाबारे जानकारी पाएको थियो।
कोर्ट अफ इन्क्वायरीको क्रममा यौन दुर्व्यवहारमा परेकामध्ये एक महिला अधिकृतको आचरण समेत सङ्गठन अनुकूल नभएको देखिएपछि उनलाइसमेत बर्खास्त गरेकाे पौड्यालले जानकारी दिए।
नेपाली सेनामा यौन दुर्व्यवहारको घटनामा परेर सैनिक अधिकृतलाई बर्खास्त गरेको यो सम्भव पहिलो घटना हो।
यसरी बाहिरियो घटना
कार्कीले महिला सैनिकको यौन दुर्व्यवहार गरेको विषय बाहिनीमा बाहिरिएपछि उनले सूचना चुहाएको भन्दै आफ्नै बाहिनीका सहायक बाहिनीपति रामचन्द्र कार्की विरुद्ध आन्तरिक छानबिन सुरु गराए। यो विषयमा विवाद बढेपछि सो घटना मध्य–पूर्वी पृतनामा पुगेको थियो।
सैनिक अधिकृतबिचको विवादसँगै यौन दुर्व्यवहार समेत जोडिएपछि सो प्रकरण सैनिक मुख्यालय आइपुग्यो। सैनिक मुख्यालयले सो घटनाको छानबिन गर्न कोर्ट अफ इन्क्वायरी गठन गर्यो।
कोर्ट आफ इन्क्वायरीमा रहेकाहरूले पङ्कजसहित पीडित देखिएका २ जना महिलामाथि अनुसन्धान गर्दा घटना पुष्टि भएपछि कार्कीलाई दोषी ठहर्याउँदै बर्खास्त गरियो भने अर्की महिला सैनिक अधिकृतको आचरण सङ्गठनको अनुशासन अनुकूल नदेखिएको भन्दै उनलाई पनि बर्खास्त गरेको थियो।
*समाचारमा यस अगाडि तीन जना बर्खास्त भएको उल्लेख भएकोमा सच्याइएको छ।
फागुन २७, २०७७ बिहीबार १९:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।