प्रधानमन्त्री ओलीले राजीनामा नदिए डा केसीले सत्याग्रह गर्ने
काठमाडौँ : विएण्डसीलाई मेडिकल कलेजलाई सम्बन्धन दिन भइरहेको खेलको विरोध गर्दै डा गोविन्द केसीले काठमाडौँ विश्व विद्यालयका उपकुलपतिको राजीनामा मागेका छन्। उनले अवैध रूपमा अघि बढाइएको सम्बन्धनको प्रक्रिया तत्काल रोक्न समेत माग गरेका छन्।
कानुनअनुसार पहिल्यै पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिइसकेका कुनै पनि विश्वविद्यालयले नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नसक्ने उल्लेख गर्दै उनले विश्वविद्यालयको उपकुलपति बनेर विश्वविद्यालयलाई नै अनियमितता र भ्रष्टाचारका अखडा बनाउने केयुका उपकुलपतिले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्।
उनले आफ्ना मागहरू पूरा नभए सत्याग्रहसहित आन्दोलनका कार्यक्रम सुरु गर्ने विज्ञप्ति मार्फत सार्वजनिक गरेका छन् । उनको मागहरूमा प्रधानमन्त्री केपी ओलीको राजीनामा समेत उल्लेख छ।
चिकित्सा शिक्षा ऐन जारी भएर सम्बन्धनको मुख्य जिम्मेवारी चिकित्सा शिक्षा आयोगको भइसकेको अवस्थामा आयोगलाई छलेर चोर बाटोबाट सम्बन्धन दिलाउने प्रयास सरासर अनैतिक र अवैध रहेको भन्दै उनले प्रधानमन्त्री र शिक्षामन्त्रीले पछिल्लो समय पदीय मर्यादा कुल्चँदै पहुँच र प्रभावका भरमा मात्र सम्बन्धन बाँड्ने प्रयास गरेको दाबी गरेका छन्।
उनले विज्ञप्तिमा भनेका छन्‘त्यसबाट उनीहरूले नैतिकता र इमान बेचिसकेको पुष्टि हुन्छ।’
काठमाडौँ विश्वविद्यालयका उपकुलपतिले कानुनी व्यवस्थाको प्रतिकुल हुने गरी आफ्ना राजनीतिक मालिकहरूलाई रिझाउन प्रयास गरेको भन्दै उनले निन्दा गरेका छन्।
‘नियुक्त भएको एकाध महिनामै यस्ता अवैध काममा संलग्न भएबाट उनी आफूले नेतृत्व गरेको विश्वविद्यालय, त्यसले दिने शिक्षाको गुणस्तर र त्यसको प्राज्ञिक मर्यादाभन्दा भ्रष्ट र आपराधिक प्रवृत्तिका राजनीतिज्ञहरूलाई खुसी बनाउनमा लिप्त छन् भन्ने पुष्टि गर्छ’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
पछिल्लो समय सरकारले चिकित्सा शिक्षा आयोगको आपत्तिका बाबजुद केयु र बिपी प्रतिष्ठानबिच कथित समझदारी पत्र गराएर सम्बन्धन दिलाउने कोसिस गरेको उल्लेख गर्दै उनले यस्तो प्रावधान नै नभएको र कुनै संस्थाका भ्रष्ट पदाधिकारीहरूको गठ जोड र सत्तामा हुनेहरूको निहित स्वार्थ देशको कानुनी व्यवस्थाभन्दा माथि हुन नसक्ने बताएका छन्।
उनले आफैँ अध्यक्ष रहेको चिकित्सा शिक्षा आयोगलाई छलेर चोर बाटोबाट सम्बन्धन दिलाउन प्रधानमन्त्री आफैँ लागिपरेको भन्दै उनको राजीनामा समेत मागेका छन्।
‘देशको प्रधानमन्त्रीका लागि योभन्दा लज्जास्पद कुरा अरू हुन सक्दैन । सिङ्गो देशका नागरिकहरूको मत लिएर प्रधानमन्त्री बने पनि माफियाका लागि पदीय मर्यादा बेचेर उनी माफिया, दलाल र अपराधीका मात्रै प्रधानमन्त्री बन्न खोजेका छन् । यसरी चरम अनैतिकतापूर्वक नागरिकप्रति बेइमानी गर्ने व्यक्ति प्रधानमन्त्री पदका लागि योग्य हुन सक्दैन । खास गरी प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमलाई सर्वोच्च अदालतले अवैध ठहर्याइपछि उनले पदमा बसिरहने नैतिक धरातल गुमाइसकेकाले उनले पदबाट राजीनामा दिनुपर्छ।’
उनले विश्वविद्यालयको उपकुलपति बनेर विश्वविद्यालयलाई नै अनियमितता र भ्रष्टाचारका अखडा बनाउने केयुका उपकुलपतिले तत्काल राजीनामा दिनुपर्ने भन्दै विज्ञप्तिमा उल्लेख छ‘ यी मागहरू पूरा नभएमा सत्याग्रहसहित आन्दोलनका कार्यक्रम सुरु गर्ने जानकारी गराउन चाहन्छौँ।’
फागुन २७, २०७७ बिहीबार १९:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।