जेल जान तयार भएर ओलीविरुद्ध १९ पेज आरोप पत्र लेखेको प्रचण्डको दाबी

जेल जान तयार भएर ओलीविरुद्ध १९ पेज आरोप पत्र लेखेको प्रचण्डको दाबी
फाइल फाेटाे।

काठमाडौँ : नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिआए आफू जेल जान र मर्न पनि तयार भएर प्रधानमन्त्री केपी ओलीविरुद्ध १९ पेजको राजनीतिक प्रस्ताव लेखेर तत्कालीन नेकपाको स्थायी समितिमा पेस गरेको दाबी गरेका छन्।

काठमाडौँमा पार्टी निकट स्वास्थ्यकर्मीहरूको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले त्यो पत्र लेख्दा आफूलाई अर्को नयाँ परिस्थितिमा, फेरि अर्को जनयुद्धको थालनीको डकुमेन्ट लेखेको अनुभूति भएको थियो दाबी गर्दै आफू अझै लड्न तयार रहेको बताए।

उनले कार्यक्रममा माओवादी समर्थकहरूलाई फकाउने प्रयास गर्दै उनीहरू सुन भएको र नयाँ साथीहरू चाँदी भएको समेत बताए। एक प्रशिक्षकको प्रसङ्ग ल्याउँदै उनले भने‘ नयाँ साथी चाँदी हो पुरानो साथी सुन हो भनेर एक शिक्षकले सिकाएका थिए। मैले गाएको थिए। जनमुक्ति सेनाका फाइटर हुन् या स्वास्थ्यकर्मी हुन्। खाडीमा कठिन रूपमा काम गरिरहेका छन्। उनीहरूसँग भर्चुअल मिटिगंमा ‘प्रचण्ड हाम्रो नेता हो फेरि लड्नुपर्यो भने हामी फर्कन तयार छौँ भन्नुभयो।’ 

उनले अगाडि भने‘ दुख पाएर खाडी मुलुकमा गएर काम गरिरहेको साथीहरूले त्यस्तो भनेको देख्दा ठुलो कुरा हो भन्ने महसुस भएकै हो।’

उनले साथीहरूले फेरि पनि लड्नुपर्ने हो भने कमाण्डिङ चाहियो भन्नेको प्रसङ्ग सम्झाउँदै भने‘ तपाईँहरू सुन नै हो।’

उनले आफूले सशस्त्र सङ्घर्ष सुरु गर्दा ४६–४७ वर्षको भएको र अहिले ६६–६७ पुगेको भन्दै‘उमेर भएका केही साथीहरूले अब छाड्नुपर्छ भने पनि आफू छोड्नेवाला नभएको बताए।

‘म  छोड्नेवाला छैन। माओत्सेतुगंले ७२ वर्षमा क्रान्ति गरेका थिए। म फेरि एक पटक क्रान्तिमा जानुपर्ने छ। म लड्ने वाला छु। एउटा ब्याटल लड्यौ र जित्यौ पनि । अरू ब्याटल जित्नुपर्ने छ।’

उनले आफू जनतासँग टाढा भएको महसुस गरेको कार्यक्रमको सम्बोधनमा देखियो। उनले अब फेरि जनतासँग जोडिन देशव्यापी अभियान चलाउने तयारीमा रहेको बताएका थिए। उनले भने‘ फेरि २–४ वर्ष फेरि जनतासँग बस्ने।’

 

फागुन २७, २०७७ बिहीबार १७:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।