महाशिवरात्रि एवं सेना दिवसमा विशेष कार्यक्रमको तयारी
काठमाडौँ : नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस अवसरमा सैनिक मञ्च टुँडिखेलमा बढाई कवाजसहित विशेष कार्यक्रम गर्दैछ। बिहान साढे १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम हुने नेपाली सेनाले जनाएको छ।
कार्यक्रममा राष्ट्रपतिबाट नेपाल एकीकरणको इतिहास, नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्ध स्थलको परिचय र सिपाही वार्षिक–२०७७ लोकार्पणका साथै ‘फ्री–फल जम्प’मा प्रथम र द्वितीय हुनेलाई पुरस्कार वितरण हुनेछ।
नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलका अनुसार सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन्।
कोरोना का कारण दिवसमा सहभागी हुने सेनाको जनशक्ति दुई हजार ४०० मा सीमित हुने प्रवक्ता पौडेलले जानकारी दिए।
सेना दिवसका अवसरमा कल्याणकारी कोषबाट ऋण सहयोग लिई उत्कृष्ट कार्य गर्ने किसानलाई प्रधान सेनापति उत्कृष्ट कृषक सम्मान, उत्कृष्ट उद्यमीलाई प्रधानसेनापति लघु वित्त उद्यमी सम्मान र सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान गर्ने पनि कार्यक्रम छ।
फागुन २७, २०७७ बिहीबार ०८:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।