केदार सङ्केतको कृति ‘अफगानी रणमैदान’ को लोकार्पण
काठमाडौँ : साहित्यकार केदार सङ्केतको नवीनतम कृति ‘अफगानी रणमैदान’ को लोकार्पण गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार रोचक घिमिरे, समीक्षकहरू प्राध्यापक डाक्टर गोविन्दराज भट्टराई, प्राध्यापक डाक्टर कुमार कोइराला, डाक्टर नेत्र एटम, वरिष्ठ पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यकार इल्या भट्टराई र कवि उत्तम काँतिचले संयुक्त रूपमा कृतिको विमोचन गरे।
कार्यक्रममा वक्ताहरूले सर्जक सङ्केतको यो कृति युद्ध साहित्यमा रुचि राख्नेका लागि एक महत्त्वपूर्ण दस्ताबेज भएको बताए। युद्ध साहित्यमा अहिले सम्म महत्त्वपूर्ण कृति प्रकाशित नभएको भन्दै वक्ताहरूले नेपाली साहित्यमा यस कृतिको खास महत्त्व प्रमाणित भएको धारणा राखे।
युद्धको बर्बर अवस्था बाहेक माया, प्रेम, यौवनका सहित व्यङ्ग्यका पक्षहरूहरुलाई बेजोडसँग समेट्न कृति सफल भएको वक्ताहरूको भनाइ थियो।
साङ्ग्रिला बक्सले यो पुस्तक प्रकाशित गरेको हो। आफैँ जलिरहेको देश (कविता सङ्ग्रह), एथेन्सको झरी (नियात्रा), सङ्केतका कविताहरू लगायतका कृति प्रकाशित गरिसकेका सर्जक सङ्केतले विभिन्न पुरस्कारहरू पाइसकेका छन्।
फागुन २७, २०७७ बिहीबार ०८:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।